आफैले आफैलाई पूज्ने यो नेवार जातिको परम्परागत पूजा संसारमै अद्वितीय होला भन्ने ठान्दछु । देउतालाई होइन । आफैले आफैलाई पूज्ने । सुन्दैमा अलि फरक लाग्दैन त ? तर एकछिन सोच्नोस, आफैलाई नबुझी बाहिरी जगतको प्रघटनालाई बुझ्ला कसले ? बुद्धले भनेका थिए – “अप्प दिपो भव”। आफै नै बत्ति बन, तब बुझ्ने छौ संसारके हो भनेर ? मैले म्हपूजा बुद्धको शिक्षाबाट निसृत भएको भन्न खोजेको होइन। त्यसै हो भने पनि मलाई थाहा छैन । मैले नेवारजातिले किन म्हपूजा गर्छन भन्ने परम्परागत मान्तयालाई आफूले बुझे अनुसार यहाँ पर्गेल्न खोज्दा बुद्धको शिक्षा अघि परेका हुन् । होइन भने कुरा उस्तैउस्तै लागेको त छ नै ।”म्ह” को अर्थ नेपाल भाषामा के लाग्छ, मलाई थाहा भएन। अरू जातिले बुझ्न पर्ने कुरा यो छ कि “म्ह” भनेको खस-नेपाली भाषाको “म” चाहि यहाँ हुँदै होइन । त्यसको लागि “जी” भन्ने आफ्नै शव्द छंदैछ । यो “जी पूजा” होइन । अर्थात “म पूजा” होइन । “म्ह पूजा” हो ।
खोजी गर्दा “म्ह पूजा”आफू भित्रको सत्वलाई पूजा गर्ने विधि भन्ने बुझेको छु। “मत्व”को पूजा गर्ने विधि, अर्थात संस्कृतको” अहमत्व (अहमता चाहिं होइन)” भन्ने बुझेको छु । “आफ्नो अस्तित्व” अर्थात् “स्वयम्भू” को पूजा गर्ने बिधि भन्ने बुझेको छु ।

आफ्नो अस्तित्व के ? कहिलेदेखि आफूमा अर्थात आफू भएको “सयम्भुत्व” को सोच सुरु भयो ? आफ्नो शरीरमा “म” म नै हुँ अरू कोही होइन भन्ने “म”त्व (सयम्भुत्व)को अस्तित्व कसरी बन्यो ? यस्तो सोच राख्न सक्ने क्षमाताको विकास हुनु भनेको एउटा जागृत अवस्था हो । अर्थात यो एउटा जागृत आभास हो जो मान्छे जातिमा मात्र हुन्छ अरू प्राणीमा त्यहासम्मको सोच राख्ने दिमागी क्षमता विकसित छैन । त्यो आभास कहिलेदेखि आफूमा भयो र कहिलेसम्म हुनेछ ? यो शरीरको अवसान पछि त्यो कहाँ जान्छ? …. प्रश्न वा सोच वा अमूर्त तथ्य त्यहाँ छ । त्यस “म”त्वको अभासलाई मैले सत्व भनें । नाम जे भने पनि भयो।
म्हपूजा यस तात्विक सत्वलाई पूजा गर्ने एक अनुपम अद्यात्मिक विधि हो । त्यसलाई सदा जागृत र सम्वृद्ध गर्ने वा राख्ने एउटा अनुपम पावन विधि हो । त्यस सत्वलाई देउता मान्ने हो भने “म्हपूजा” आफूभित्रको देउतालाई पूजा गर्ने विधि हो। त्यसलाई ज्ञानको दीप मान्ने हो भने त्यो दीप बाल्ने वा तेजोमय बनाउने पूजा हो। सबै अर्थमा “म्हपूजा” आफूलाई बुझ्ने प्रयाश हो । आफूलाई सात्विक, पवित्र, सुद्रिढ, सुगठित, सुस्वस्थ्य, सम्वृद्ध, तेजोमय बनाउने प्रयाश हो, कामना हो, अनि सबैभन्दा बढी सम्बद्ध काल र परिस्थितिमा आफू हुनुको आभास अर्थात “म”त्व अर्थात “स्वयम्भू”त्वको नियति वा संयोगलाई अनि आफ्नै जागृतिलाई कृतज्ञतापूर्ण अबिभुतीकरण हो- सुसंस्कृत प्रत्यक्षीकरण हो ।

नेवार समुदायमा यो कहिलेदेखि निरन्तरित भयो थाहा भएन । तर भनिन्छ, परापूर्व कालदेखिनै राजकीय हसियातमा साँझतिर आगंद्य (कूल देउता) र तलेजु भवानीको म्हपूजा समेत ख्वप (भक्तपुर ), एन (काठमाडौँ) र यल (ललितपुर) मा नेवार पुरोहितद्वारा गरिने चलन थियो। पृथ्वीनारायण शाहले नेपाल लिएपछि यसको राजकीय हैसियत त छैन तर पनि ती तिनै स्थानहरूमा आजसम्मै नेवार पुरोहितले निरंतरित गर्दै आएका छन्। यो पूजा सार्वजनीक हिसाबमा गरिन्न । भनिन्छ उहिले नेवार राजा, पुरोहितहरू र माथ्ला तहका भारदारहरू यी देविहरूसंग बसेर संगै म्हपूजा गर्थे । यसको अतिरिक्त म्हपूजा हर घरपरिवारमा गरिन्थ्यो र अनवरत गरिंदै आएको छ।
यस पूजामा परिवारका हरेक व्यक्तिको लागि अष्टमंगलको मण्डला कलात्मक ढंगमा भुइमा बनाइन्छ र त्यसैमा पूजा सामग्रीहरू राखेर सामुन्ने बसी त्यसमा भएको दीप बाल्दै घरपरिवारको मुली महिलाबाट सगुन लिंदै, टीका लाउँदै शीरदेखि घुंडासम्म फूलहरूको पत्ति खन्याउँदै आफ्नो अंगको पूजा गरिन्छ। पूजा सकिएपछि त्यहाँ नै चिउरा प्रमूख रहेको शाकाहारी वा मांसाहारी भोज गरिन्छ । भातलाई जुठो मानिन्छ।
घरबाट बाहिर रहेका नेवारहरूले सामूहीक म्हपूजा गर्ने चलन गरेका छन् । जसमा अन्य जातिका संस्कृतिलाई सम्मानपूर्ण सद्भाव राख्ने कुनैपनि जाति वा धर्मका स्वदेशी विदेशी मीत्रगणलाई पनि समावेश गर्ने चलन छ। सबै नेवारहरूले गर्ने म्हपूजा स्वदेशमा होस् वा विदेशमा होस्, समावेशी ढंगमा होस् वा सामूहिक होस् वा घरपरिवारमा छुट्टै होस्, कसैमा भिन्नता छैन । एक्कै नै हुने गर्छ। उही कसैकसैले आफ्नो गच्छे अनुसार भव्य गर्ने मात्र हो ।
म्हपूजाको उद्गमको बारेमा कसैले भन्छन नेपाल सम्बतको नववर्षको उपलक्षमा आफ्नो सुस्वास्थ्य,सुख, शान्ति, उत्तरोत्तर प्रगति र सम्वृद्धिकोलागि कामना गर्नेक्रममा यो प्रचलन स्थापित भयो । तर म्हपूजाको गहनता र गहिराइलाई हेर्दा त्यसो मात्र मलाई लाग्दैन। मलाई यस्तो पनि लाग्छ कि नेपाल सम्बत स्वयमको सुरुवातनै यसै पावन विधि गर्ने दिनको साइतमा गरियो । तथापि यसमा दृढ अडान भने छैन ।
म्हपूजाको अवसरमा सबैमा “स्वयम्भूत्व”को आभास जागृत होस् त्यसैको कामनासाथ भिन्तुना !!!
















प्रतिक्रिया