५ कार्तिक २०८३, बिहिबार

२६ वर्षीय युवक आफ्नै डेरामा मृत फेला

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा भाडाको कोठामा बस्दै आएका एक युवक मृत फेला परेका छन् ।

अछामको रामारोशन गाउँपालिका–५ घर भएका २६ वर्षीय राजेन्द्र रोकाया वीरेन्द्रनगर नगरपालिका–८ स्थित रंगशाला नजिक नवीनकुमार केसीको घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार रोकाया आफू सुत्ने कोठाको भित्तामा रहेको किलामा प्लास्टिकको डोरीको पासो लगाएको अवस्थामा भेटिएका थिए ।

घरधनीले बिहीबार बिहान करिब ८ः५० बजे घटनाबारे जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई जानकारी गराएका थिए ।

घटनास्थलमा प्रहरी पुग्दा डोरी चुँडिएको र रोकाया भुइँमा मृत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

रोकाया करिब एक वर्षदेखि लोकसेवा आयोगको परीक्षाको तयारीका लागि उक्त घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।

घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक श्यामप्रकाश यादवको कमान्डमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यादवले जानकारी दिएका छन् ।

घटनाको कारण खुल्न बाँकी रहेको र प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।