४ कार्तिक २०८३, बुधबार

नेपाल बैंकर्स संघबाट २५० शाखा खोल्न प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असार । नेपाल बैंकर्स संघले निजी बैंक नपुगेका नगर र गाउँपालिकामा २५० वटा नयाँ शाखा खोल्न प्रस्ताव गरेको छ ।

बैंकिङ सुविधा नपुगेका सात वटै प्रदेशका २५० वटा स्थानीय तहमा निजी बैंकको शाखा थप्नका लागि राष्ट्र बैंकलाई प्रस्ताव गरेको संघका अध्यक्ष अनिलकेशरी शाहले जानकारी दिनुभयो ।

जस अनुसार, प्रदेश नम्बर १ मा ५२, प्रदेश नम्बर २ मा ३५, प्रदेश नम्बर ३ मा २७, प्रदेश नम्बर ४ मा ३२, प्रदेश नम्बर ५ मा ४०, प्रदेश नम्बर ६ मा २५ वटा र प्रदेश नम्बर ७ मा ३९ वटा शाखा खोल्न प्रस्ताव गरिएको छ ।

‘चुनावसँगै स्थानीय निकायलाई सक्षम बनाउन तथा केन्द्रीय सरकारको बजेट स्थानीय तहसम्म पुर्याउन हरेक नगर र गाउँपालिकामा कम्तीमा पनि एउटा बाणिज्य बैंकको शाखा खोल्न सरकारले योजना बनाएको छ । त्यही तथ्यलाई मनन गर्दै बैंकर्स संघले गरेको समन्वयमा २७ वटा बाणिज्य बैंक शाखा खोल्नका लागि तयार भएका छन् । २५० वटा शाखाको प्रस्तावित सूची हामीले राष्ट्र बैंकलाई बुझाएका छौँ,’ अध्यक्ष शाहले भन्नुभयो, ‘भूकम्पपछि अबरुद्ध सेवालाई सुचारु गर्न होस् वा नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई वित्तीय क्षेत्रबाट सहयोग गर्न निजी क्षेत्रका बाणिज्य बैंकहरु सँधै तत्तर छन् ।’

अध्यक्ष शाहका अनुसार ७४४ स्थानीय तहमध्ये ४११ वटा स्थानीय तह अहिले बित्तीय क्षेत्रको पहुँच भन्दा बाहिर छ । ४११ वटा मध्ये अधिकांश गाउँपालिका निकै दुर्गममा छन् । अधिकांशमा सडक सुविधा, बैंको कार्यालय राख्न उपयुक्त भवन जस्ता भौतिक संरचनाका साथै बिजुली, टेलिफोन, इन्टरनेट र सुरक्षाको अभाव देखिएको छ । जसका कारण बैंकका शाखा खोल्न निकै अप्ठेरो देखिएको छ ।

‘यद्यपि सरकारको पहलकदमीलाई गम्भीरतापूर्वक लिँदै संघले २५० वटा शाखा खोल्नका लागि प्रस्ताव गरेको छ । नयाँ शाखा खुलेपछि ६०० वटा स्थानीय तह अर्थात ८० प्रतिशत जनतामा बैंकिङ पहुँच पुग्नेछ ।’– अध्यक्ष शाहले भन्नुभयो ।

संघले प्रस्तावित शाखाको संख्यासँगै नामावली पनि बुझाएको छ ।