२९ आश्विन २०८३, बिहिबार

राजस्वसम्बन्धी ‘गोदावरी घोषणापत्र’जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajaswoललितपुर, ६ कात्तिक । आन्तरिक राजस्व विभागले चालु आव २०७१–०७२ मा रु १६८ दशमलव ५६ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्यसहित सत्रबुँदे सुधार कार्य सम्पादन गर्ने लक्ष्य लिएको छ ।

विभागले दुईदिने व्यवस्थापन गोष्ठी, समीक्षा र आगामी कार्ययोजनाको सम्पन्न गर्दै गोदावरी घोषणापत्र जारी गरेको हो ।

आयकर वृद्विदरलाई कम्तीमा २२ प्रतिशत कायम राख्ने उद्देश्यले कुल आयकरमध्ये स्रोतमा सङ्कलन गरिने करको योगदान कम्तीमा २५ प्रतिशत पुराउने लक्ष्य विभागले लिएको छ ।

विगतका केही वर्षदेखि बढ्दै गइरहेको कर बक्यौता अङ्क र करदाता सङ्ख्यालाई न्यूनीकरण गर्ने उद्देश्यले मूल्य अभिवृद्धिकर, आयकर एवम् अन्तःशुल्कलगायत अन्य करको अभिलेख अद्यावधिक गर्नाका साथै चालु आवमा करिब पाँच अर्ब २७ करोड बक्यौता असुली गरिने लक्ष्य विभागले लिएको छ ।

वित्तीय अनुशासन कायम गर्दै विगतमका बेरुजुमध्ये कम्तीमा दुई अर्ब २८ करोड बेरुजु सम्परीक्षण गरिने घोषणापत्रमा उल्लेख छ ।

करदाताको सहभागितामा लागत तथा समय घटाउन र कर प्रशासनको कार्यबोझ न्यूनीकरण गर्ने उद्देश्यले आयकर विवरण पेस गर्ने म्यादथपसम्बन्धी निवेदनलाई अनलाइनबाट पेस गर्न सकिने र सोको प्रमाणीकरण गर्ने कार्यलाई स्वचालित बनाइने विभागका महानिर्देशक चूडामणि शर्माले बताउनुभयो ।

कर प्रशासनको कार्यान्वयन क्षमता अभिवृद्वि गर्न र स्वेच्छिक कर सहभागिता अभिवृद्वि गर्ने उद्देश्यले विद्यमान ऐन कानुनको परिमार्जनलाई प्राथमिकता दिएर मूल्य अभिवृद्वि कर तथा आयकर निर्देशिका परिमार्जन गरी २०७१ फागुन मसान्तभित्र जारी गरिने बताइएको छ ।  रासस