दाङ, १९ असार । नेकपा एमालेले जितेको पहिलो उपमहानगरपालिका घोराहीमा विजयी जुलुस निकालिएको छ ।
देशकै ठूलो घोराही उपमहानगरपालिकामा सोमबार एमालेका नरुलाल चौधरी मेयर र सीता न्यौपाने उपमेयर निर्वाचित भएका थिए । निर्वाचित भएको एक दिनपछि एमाले नेता शंकर पोखरेलको अगुवाईमा घोराहीमा विजयी जुलुस निस्किएको हो ।
नेता पोखरेलका अनुसार दाङको कम्युनिष्ट आन्दोलनका अग्रज नेता नेत्रलाल अभागीको सालिकमा माल्यार्पण गरेर घोराही उपमहानगरपालिकाको विजय जुलुस आरम्भ भएको छ ।
विजयी जुलुसलाई सम्बोधन गर्दै नेता पोखरेलले निर्वाचनमा नेकपा(एमाले)लाई जिताउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी तथा अमुल्य मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका छन् ।
विजयी जुलुसमा एमाले नेतृ सुजाता शाक्य, शान्ता चौधरी, जिल्लास्थित नेता कार्यकर्ता र जनताको उल्लेख्य सहभागिता रहेको थियो ।
दोस्रो चरणको चुनावमा एमालेले घोराहीबाट उपमहानगरपालिकामा जित सुरुवात गरेको छ । यता एमालेले दाङकै तुलसीपुर उपमहानगरपालिकामा पनि अग्रता लिइरहेको छ । यसैगरी, सुनसरीको धरान र इटहरी, रुपन्देहीको बुटवल उपमहानगरपालिकामा एमाले अगाडि छ । मोरङको विराटनगर महानगरपालिकामा कांग्रेसले अग्रता लिइरहेको छ ।























प्रतिक्रिया