
काठमाडौं, २० असार । नेपाल प्रहरीले २६ प्रकारका शक्तिशाली हतियार खरिदको प्रस्ताव गृहमन्त्रालयमा पेस गरेपनि अहिलेसम्म खरिद गर्न सकेको छैन ।
हातहतियार तथा टियर ग्यास र लत्ता कपडा अभावले नेपाल प्रहरीको भण्डारण रित्तिएपनि प्रहरीले सामान खरिद गर्न नसक्दा प्रहरी संगठन यतिबेला लथालिंग भएको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
प्रहरीले एमपी ५, जीपीएमजी, एमएमजी, एके ४७, एम १६, एलएमजी (लङ मेसिनगन), एसएमजी (सर्ट मेसिन गन)लगायतका अत्याधुनिक राइफल तथा रकेट लन्चर, ५१ मोटोरलगायतका शक्तिशाली हतियार खरिदको प्रस्ताव गरेको छ ।
यी हतियार नेपाली सेनासहित भारत र पाकिस्तानी सुरक्षाकर्मीले प्रयोग गर्दै आएका छन् । रोबोटको व्यवस्थासहित प्रहरीले बम डिस्पोजल उपकरणसमेत मागेको छ । बम डिस्पोजका लागि प्रहरीले सेना र सशस्त्र प्रहरीको मद्दत लिँदै आएको छ ।
करिब ६२ हजार जनशक्ति कार्यरत प्रहरीसँग थ्री नट थ्री राइफल, एसएलआर, म्याग्नम राइफल, हर्नेट राइफल, सर्टगन, ग्यास गन तथा पेस्तोल÷रिभल्बरलगायतका ३५ हजार हाराहारीमा हतियार छन् ।
नेपाल प्रहरीले तीन वर्षदेखि सामानहरू खरिद गर्न सकेको छैन । हात हतियार गोली गठ्ठा लगायतका कुनै पनि अत्यावश्यक सामाग्रीहरू खरिद गर्न नसक्दा प्रहरीको नेतृत्व पूरै निकम्मा सावित भएको छ ।
प्रहरी प्रधान कार्यालयले तीन वर्षदेखि प्रहरी मुख्यालयले संगठनका सदस्यहरूका लागि आवश्यक लत्ताकपडा पनि खरिद गर्न सकेको छैन ।
प्रहरी संगठनको उच्च नेतृत्व विशेषगरी आइजी र एआइजीहरू एकै व्याचका हुनु र उनीहरूबीचको मनोमालिन्यका कारण एकले अर्कालाई बिगार्न उजुर गर्ने, अनावश्यक टीकाटिप्पणीले प्रचार गराउने जस्ता कार्य हुन थालेपछि यसअघिका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सामान खरिद गर्न सकेनन् ।
उनले समानखरिदका लागि प्रस्ताव गर्दा अर्का एआइजी राजेन्द्रसिंह भण्डारीले रोकेका थिए । अझ वामदेव गृहमन्त्री भएका बेला अरबौको हतियार खरिद गर्न लाग्दा उनैले मिडियामा सूचना चुहाएर त्यसलाई तुहाइदिएका थिए ।
केही सामान टेण्डर विनै खरिद भए पनि त्यसले सीमित समयमा मात्रै धानेको थियो । निर्वाचनको बेला समेत प्रहरीले चुस्ता र अन्य सामान खरिद गर्न सकेन ।
प्रहरीले विगत तीन दुई वर्षयता आफना सदस्यहरूका लागि खरिद गर्न नसक्दा उनीहरूले पाउनुपर्ने अधिकारको लत्ताकपडासमेत प्राप्त गर्न सकेनन् ।












प्रतिक्रिया