टोकियो, ३ कात्तिक । जापानमा राजनीतिक कोष दुरूपयोग गरेको भनी आरोप लागेपछि प्रधानमन्त्री सिन्जो आबेको मन्त्रिपरिषद्का दुई महिला सदस्यले सोमबार राजिनामा दिएका छन् र यसले प्रधानमन्त्रीको लैंगिक सुधारको प्रयासमा धक्का लागेको बताइएको छ ।
उद्योगमन्त्री युको ओबुची तथा न्यायमन्त्री मिदोरी मात्सुसिमाले मत खरिद गर्न रकम खर्च गरेको आरोप प्रतिपक्षीले लगाएपछि उनीहरूले राजिनामा दिएका छन् ।
अब प्रधानमन्त्री आबेको मन्त्रिपरिषद्मा महिला मन्त्रीको सङ्ख्या तीन भएको छ । उनले सेप्टेम्बर महिनामा आफ्नो मन्त्रिपरिषद्मा पाँच महिलालाई नियुक्त गरेका थिए र यसको प्रशंसा गरिएको थियो ।
प्रधानमन्त्री आबेले आफूले प्रधानमन्त्रीका रूपमा यी दुई महिलालाई नियुक्त गरेको र यस परिस्थितिका लागि आफूले जिम्मेवारी लिने र माफी माग्ने बताए । पूर्वप्रधानमन्त्री किइची मियाजावाका भितिजा योइची मियाजावाले ओबुचीलाई उद्योगमन्त्रीका रूपमा प्रतिस्थापन गर्ने प्रधानमन्त्री आबेले बताए ।
जापानको घट्दो जन्मदर विषयमा राज्यमन्त्री भएका ६१ वर्षीया महिला राजनीतिज्ञ योको कामिकावालाई नयाँ न्यायमन्त्री बनाइएको छ ।
प्रधानमन्त्री आबे सन् २०१२ मा पदमा पुगेपछि दुई मन्त्रीले दिएको राजिनामालाई एक प्रमुख समस्याको रूपमा हेरिएको छ । यसअघि जापानमा हरेक वर्ष प्रधानमन्त्री परिवर्तन भएको र सरकार कमजोर अवस्थामा रहेको देखिएको थियो ।
ओबुचीले आफ्ना समर्थकलाई सौन्दर्य सामग्री उपहार दिन राजनीतिक कोष खर्च गरेको आरोप लागेको छ । यसै गरी उनले आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई चलचित्र हेर्न सस्तो मूल्यमा यात्रा गराएको भन्ने पनि आरोप लगाइएको छ ।
मात्सुसिमाले आफ्नो नाम र तस्बिर छापिएको कागजको पङ्खा सस्तो मूल्यमा बाँडेको आरोप लगाइएको छ । आलोचकले उनले पनि यस पङ्खामार्फत मतदाताको समर्थन खरिद गर्न खोजेको आरोप लगाएका छन् । एएफपी













प्रतिक्रिया