डोटी, १७ असार । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकामा एमालेले विजयी हासिल गरेको छ ।
नेपाली कांग्रेसको किल्लाको रुपमा चिनिएको पूर्वीचौकीमा एमालेका उम्मेदवारहरू विजयी भएका हुन् ।
एमालेबाट प्रमुखमा उम्मेदवार बनेका दीर्घ वोगटीले कांग्रेसका उम्मेदवार रामप्रसाद उपाध्यायलाई झिनो मतले पछि पार्दै जीत दर्ता गराए । बोगटीले तीन हजार ६ सय १५ ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसमा उम्मेदवार उपाध्यायले तीन हजार पाँच सय ६८ मत ल्याए ।
उपप्रमुखमा पनि एमालेकी निर्मला साउद विजयी भएकी छिन् । साउद तीन हजार पाँच सय ८७ मतका साथ विजयी भएकी हुन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी माया कुँवरले तीन हजार पाँच सय २८ मतमा पाइन् ।
वडाहरूमा भने नेपाली कांग्रेसकै बाहुल्यता देखिएको छ । ७ वडा रहेको गाउँपालिकाको १, २, ३ र ७ मा कांग्रेस विजयी भएको छ । ४, ५ र ६ मा एमालेका उम्मेदवारले जितेका छन् ।











प्रतिक्रिया