
काठमाडौं, १५ असार । अखिल नेपाल टेबलटेनिस संघको तत्वावधान तथा काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा नवौं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता साउन १७ गतेदेखि हुने भएको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा पाँच दिनसम्म चल्ने प्रतियोगितामा विभिन्न २७ स्पर्धामा प्रतिस्पर्धा हुने स्व. पूर्णमानका छोरा एवं आयोजक संघका अध्यक्ष धर्ममानले जनाएका छन् ।
स्कुलमा ८, कलेज र भेट्रानमा ४–४, खुला र मिडियामा २–२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुष र महिला सिंगल्समा प्रतिस्पर्धा हुने खुला स्पर्धामा नगद पुरस्कार पनि राखिएको छ ।
शीर्ष तीन स्थानमा रहने खेलाडीले क्रमशः १५ हजार, १० हजार र ५÷५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
‘सबैका लागि टेबलटेनिस’ नारा दिइएको प्रतियोगितामा पारातर्फ पनि खेल हुनेछ । शारीरिक अपाङ्गमा ३ तथा बहिरा र दृष्टिविहीनमा २–२ स्पर्धा राखिएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।















प्रतिक्रिया