डडेल्धुरा, १३ असार । स्थानीय तहको दोस्रो चरणको चुनाव आउन एक दिन बाँकी रहँदा डडेल्धुरामा एक जना उम्मेदवारले पैसा बाँडिरहेको फेला परेको छ ।
सत्तारुढ नेकपा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष उम्मेदवार जगत पार्कीले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सोमबार राति पैसा वितरण गर्न लागेको खबर पाएपछि एमाले कार्यर्ताले लखेटेका हुन् ।
डडेल्धुरा आलिताल गाउँपालिका वार्ड नं ६ मा उम्मेदवार पार्की आफू नै स्थानियको घरमा पसी पैसा वितरण गर्न थालेपछि रंगेहात समातिएको स्थानीयले बताएका छन् । उनलाई १ सय जना एमालेका कार्यकर्ताले लखेटेका थिए ।
काठको कारोबार गर्ने जगत पार्की मजदुरको पैसा दिने निहुँमा सोमबार राति घर घरमा पैसा बाँड्न थालेको प्रत्यक्षदर्शी बताउँछन् । विपक्षी पार्टी समर्थक स्थानीयले पैसा बाँडने उम्मेदवारको प्रतिकार गर्न थालेपछि माओवादी केन्द्रका कार्यकर्ताको भागाभाग भएको थियो ।
अतितालका एमाले उम्मेदवार तुलाराम बोहराको लोकप्रियताबाट आत्तिएर मतदाता भड्काउन पैसा बाँड्न माओवादी केन्द्र लागेको एमाले आलिताल संगठन कमिटी संयोजक मिन बोगटीले प्रतिक्रिया दिए ।
यता माओवादी उम्मेदवार पार्कीले आफूले कुनै पैसा नबाडेको र एमालेले राजनीतिक प्रतिशोध साध्न खोजेको दाबी गरेका छन् ।












प्रतिक्रिया