१५ कार्तिक २०८३, आइतबार

मतदाताका आ–आफ्नै योजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । १४ गते हुने स्थानीय तह दोस्रो चरण निर्वाचनमा मतदान गर्न मतदाता आतुर देखिएका छन् । आफ्नो प्रतिनिधि आफैं चयन गर्ने प्रक्रियामा सहभागी हुन एक दिन बाँकी रहँदा मतदाता निर्वाचनका लागि आतुर देखिएका हुन् ।

प्रदेश–१, ५ र ७ गरी ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनमा तीनै प्रदेशका गरी ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले मतदान प्रक्रियामा भाग लिन पाउनेछन् । राजधानी दैनिकले समाचार छापेको छ ।

प्रदेश–५ मा पर्ने नवलपरासी सदरमुकाम र बर्दघाटवरपरका मतदाता २० वर्षपछि आफ्ना प्रतिनिधि चयन गर्न पाउँदा आतुर भएको बताएका छन् । रामग्राम नगरपालिका–५ का मतदाता अविनाश रेग्मीले २० वर्षपछिको निर्वाचनले स्थानीय स्तरमा नै अधिकार प्रदान गर्ने हुँदा आतुर भएको बताए । ‘पहिलेपहिलेका निर्वाचनमा मतदाताको काम प्रतिनिधि चयन गर्ने मात्रै हुन्थ्यो ।

अहिलेको निर्वाचनले धेरैजसो अधिकार स्थानीय तहमा नै ल्याउँदै छ भन्ने सुनेको छु । त्यसका लागि पनि मतदान गर्न आतुर छु,’ रेग्मीले राजधानीसँग भने ।

प्रदेश–१ अन्तर्गत पर्ने धरान उपमहानगरपालिका–६ का मतदाता राजकुमार पौडेलले स्थानीय तह निर्वाचनले मतदातालाई जागरुक बनाएको बताए । उनले २० वर्षअघिको निर्वाचनमा भन्दा अहिलेको निर्वाचनमा मतदाताहरूमा सचेतना बढेको भन्दै स्थानीय तहको निर्वाचनबाट आफ्नो अधिकार स्थापित हुने कुरामा मतदाता सचेत भएको बताएका हुन् ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ की बिना आचार्यले यसपटकसहित दोस्रोपटक मतदान गर्न लागेको बताइन् । ‘मैले अघिल्लो संविधानसभाको निर्वाचनमा भोट हालेकी थिएँ । अहिलेको जस्तो चुनावको रौनक नै थिएन । अहिलेको निर्वाचनले मतदातामा उत्साह बढाएको छ । पार्टी होइन, व्यक्ति हेरेर मतदान गर्छु,’ उनले भनिन् ।

रूपन्देहीको सैनामैना नगरपालिका वडा ११ का मतदाता ७० वर्षीय रमेश पौडेलले पनि २२ वर्षदेखि आफूले निरन्तर मतदान गर्दै आएको बताए । ‘अहिलेको जस्तो उत्साह कुनै निर्वाचनमा देखिएन, सातै मत एकै चिह्नमा हाल्ने सोच बनाएको छु,’ पौडेलले भने ।

लामो समय जनप्रतिनिधि नहुँदाको अवस्थाबीच हुन गइरहेको हुँदा पनि स्थानीय तहको निर्वाचनलाई मतदाताले उत्साहका रूपमा लिएका छन् । तीनवटै प्रदेशमा गरी एक महानगरपालिका, सात उपमहानगर, १ सय ११ नगरपालिकाका लागि प्रमुख तथा उपप्रमुख पदमा दोस्रो चरण निर्वाचन हुँदै छ । यस्तै २ सय १५ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि समेत उम्मेदवारी परेको आयोगले बताएको छ ।

निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन् । स्थानीय तह निर्वाचनअन्तर्गत कुल ७ सय ४४ स्थानीय तहका कुल १८ हजार ५ सय ७२ निर्वाचन केन्द्रमध्ये दोस्रो चरणमा ३ सय ३४ तहका ८ हजार ३ सय ६४ केन्द्र र ४ हजार ५ सय ८१ स्थलमा निर्वाचन हुने आयोगले बताएको छ । दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले भाग लिनेछन् ।