
यूके । एनआरएन यूकेको अध्यक्षमा दासुराम पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् ।
‘विगत लामो समयदेखि एनआरएन यूकेको अभियानमा निरन्तर लागिरहेको छु । र, अहिले वर्तमान कार्यसमितिको उपाध्यक्षको रुपमा पनि रहेका कारण मेरो उम्मेदवारी स्वभाविक हो,’ अध्यक्षका उम्मेदवार पाण्डेले दैनिक नेपालसँग भने – ‘मेरा अग्रज, साथीभाई र समाजका अन्य व्यक्तित्वहरुले मलाई जुन खाले सहयोग, सद्भाव र समर्थन जनाउँदै आउनुभएको छ, उहाँहरुकै सल्लाह र सुझाव अनुसार मेलै अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।’
उनले थपे- ‘एनआरएन यूकेको नेतृत्व लिँदै कतिपय नमुनायोग्य योजना र कार्यक्रमहरु पूरा गर्ने अठोट पनि लिएको छु । एनआरएन यूकेलाई संसारका अन्य देशको तुलनामा नमुनायोग्य बनाउन सकिन्छ ।’
बेलायतमा नेपाल हाउसको निर्माण गर्दै एनआरएनलाई व्यवस्थित गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको उनले बताए । ‘सबैभन्दा पहिले एनआरएनलाई हामी बसेकै देश बेलायतमै बलियो बनाउनुपर्छ, अनि मात्र हामीले मातृभूमिमा एकीकृत र प्रभावकारी रुपमा सहयोग गर्न सक्छौँ ।’, उनले भने – ‘बेलायतमा रहेका बिभिन्न संघसंस्थाको सक्रियतामा नेपालीहरुको साझा भवन निर्माण गर्न सकिन्छ । त्यसका लागि म लाग्नेछु ।’ आगामी सेप्टेम्बर ९ मा एनआरएन यूकेको अधिवेशन हुँदैछ ।
पाण्डे एनआरएन यूकेको स्थापनाकालदेखि नै सक्रिय रहँदै आएका छन् । एनआरएन वृत्तमा उनी सबैसँग मिल्न सक्ने, संस्थाभित्र विवाद र असमझदारीको अवस्था आए मध्यस्थता पनि गर्न सक्ने पात्रका रुपमा चिनिन्छन । संस्थाभित्र सँधै तार्किक र शालिन रुपमा प्रस्तुत हुने उनलाई यसअघिदेखि नै एनआरएन यूकेको नेतृत्व गर्न सक्ने क्षमता राख्ने एक सम्भावित पात्रका रुपमा हेरिँदै आएको छ ।
बेलायतमा व्यवसायिक सफलता पाउने नेपाली युवाहरुमा पाण्डेका साउथ ईस्ट लण्डनमा दुई रेष्टुरेन्ट छन् । रेष्टुरेण्ट बाहेक अन्य क्षेत्रमा पनि उनको लगानी छ । उनी साउथ ईस्ट लण्डनमा निकै लोकप्रिय र व्यवसायिक रुपमा सफल मानिन्छन ।
यसैगरी, नेपालको सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा पनि उनको पहुँच रहेको छ ।















प्रतिक्रिया