
काठमाडौं, ११ असार । झापा जिल्लाको दमक नगरपालिकामा मेयर पदको उम्मेदवार बनेका माओवादी केन्द्रका नेता गगन पुरीले आफूले योजना पारेका तीन वटा पुलको शिलन्याश एमाले अध्यक्ष केपी ओलीले गरेको आरोप लगाएका छन् ।
झापा जिल्लाबाट बसाइँ सराइँ गरेर अध्यक्ष केपी ओली भक्तपुर जिल्ला पुगेको भन्दै पुरीले भने, ‘केपी ओली पहिला झापाको बासिन्दा हुन् । अहिले भक्तपुर जिल्लामा बसाइँ सराइँ गरिसकेका छन् । अब यो जिल्लाबाट उनको नाता सक्कियो । झापामा आएर चुरिफुरी नगरे हुन्छ ।’
नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै पुरीले भने, ‘मैले दमक नगरपालिका मात्रै होइन झापा जिल्लामा दुई अर्बको बजेट ल्याएको छु । मैले पारेका तीन वटा पुलको शिलान्याश केपी ओलीले गर्नु भएको छ ।’ उनले भने, ‘एमालेले दमक नगरपालिकामा एमालेले सिन्को पनि भाँचेको छैन ।’
दमक नगरपालिकामा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार बनेका नेता रोमनाथ ओलीलाई ‘बोइलर कुखुरा’को संज्ञा दिएका पुरीले भने, ‘दमक नगरमा मैले जित्छु । रोमनाथ ओलीजीले भुटानी शरणार्थीलाई नागरिकता बेचेर कमाउनु भएको छ । उहाँले जित्नु हुँदैन । ओलीले दिएको बजेट चलाउने मान्छे हो । रोमनाथजी बोइलर कुखुरा हो । म लोकल कुखुरा हो ।’
माओवादी केन्द्रका मेयर पदका उम्मेदवार ओलीको आरोपको जवाफ दिँदै एमालेका नेता ओलीले भने, ‘गगन पुरी जग्गा दलाल हुन् । जग्गाबाट करोडौँ रकम कमाएका छन् । उनी दमक नगरपालिकाका लागि उपयुक्त मान्छे होइनन् । गगन पुरी तेस्रोबाट अब चौथो नम्बरको प्रतिस्पर्धी बन्दै हुनुहुन्छ ।’
नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार ढुण्डीराज भण्डारीले दमक नगरपालिकाका आफूहरूको जित सुनिश्चत रहेको बताए । उनले भने, ‘कांग्रेसले धेरै बोल्दैन काम गर्छ । दमक नगरमा भएका अधिकांश विकास कांग्रेसले गरेको हो ।’
मौन अबधि सुरु हुन केही घण्टा बाँकी रहँदा एमालेका अध्यक्ष केपी ओलीको गृह जिल्ला झापाको दमकमा कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारबीच कडा प्रतिस्पर्धाको अवस्था आएको हो ।















प्रतिक्रिया