२१ कार्तिक २०८३, शनिबार

वडाको समग्र परिवर्तन ल्याउने छुः पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

२०५० सालमा नेकपा एमालेको संगठित सदस्य भएका दामोदर पोखरेल विराटनगर ६ का लागि परिचित व्यक्ति हुन । एमालेको विभिन्न कमिटीमा रहेर जिम्मेवारी पुरा गरिसकेका पोखरेल असार १४ गते हुने दोश्रो चरणको निर्वाचनका लागि वडाध्यक्षका उम्मेदवार हुन । वडावासीको समस्यालाई आफ्नै समस्याका रुपमा लिने उनी नेकपा एमाले मात्र हैन अन्य दलका नेता कार्यकर्ताले रुचाएका व्यक्ति भित्र पनि पर्दछन् । २३ वर्ष ७ महिना शिक्षण पेशामा विताएका उनले शिक्षा संकायमा स्नातकोत्तर गरेका छन् । उनै पोखरेलसँग गरिएको कुराकानी ः

चुनावी अभियानलाई कसरी हाँकिरहनु भएको छ ?

झण्डै एक महिना देखि घर दैलो भेटघाट र आमवडावासीको समस्या बुझ्ने गरि हिँडिरहेको छु । अभियानमा आम वडा वासीको उत्साहपूर्ण सहयोग पाएको छु । यस क्षेत्रमा रहेका मधेशी तथा आदीवासीहरुको समेत सद्भाव र स्नेहमा चुनावी अभियानलाई हाँकिरहेको छु । यस क्षेत्रका प्रतिष्ठीत उद्योगपति व्यवसायी देखि श्रमजीवि वर्गले समेत चुनावी अभियानमा सहयोग गरिरहनु भएको छ । पछिल्लो समयमा मैले यति धेरै मतदाताहरुको मायाँ पाएको छु । जसले मलाई हौसाएको पनि छ ।

चुनाव जित्न सक्नुहुन्छ त ?

२५ वर्षदेखि यहाँका हर व्यक्तिसँग परिचित छु । नेकपा एमालेले राष्ट्रिय राजनीतिमा खेलेको भूमिका र आम नेपाली नागरिकमा विकासको सपना बाँडेर गाउँ गाउँमा विकासका लहर ल्याएकाले पनि हाम्रो चुनाव जित्ने आधार बलियो छ । स्थानीय स्तरमा जनताको घरदैलोमा सँधै पुगेको र उहाँहरुको सुख दुःखको साथी भएकाले पनि चुनाव जितिन्छ । मेरो विजयलाई विराटनगर ६ मा कसैले रोक्दैन ।

कस्ता चुनावी एजेण्डा लिएर मतदाता सामु पुगिरहनु भएको छ ?

खास गरेर हाम्रो पार्टीले नै विराटनगर विकासको वृहत्तर सोच राखेर घोषणा पत्र सार्वजनिक गरिसकेको छ । एमालेले गरेको घोषणा विराटनगरको विकासका लागि कोशे ढुङ्गा सावित हुने छ । तथापी मैले पनि वडावासी समक्ष केही प्रतिवद्धताहरु व्यक्त गरेको छु । गरिव असहायहरुलाई निशुल्क स्वास्थ्य उपचार गर्ने, रामपुरको सुकुम्वासी समस्यालाई समाधान गर्न माथिल्लो निकायमा समन्वय गरि निकास निकाल्नका लागि पहल गर्ने, बालबालिकालाई खेल्ने पार्क, सामुदायिक भवकने व्यवस्था, सरौचियालाई विशेष प्राथमिकतामा राख्दै अन्य विग्रेको भत्किएको सडक, नालाहरु मर्मत गरि पिच वाटो निर्माण गर्ने, यस वडाको फोहोरमैलालाई व्यवस्थित गरि कम्पोष्ट मल बनाईने, बृक्षरोपण कार्यक्रमलार्य अभियानका रुपमा सञ्चालन गरि वडालाई हरित वडा बनाउने, प्रत्येक सडकमा सोलार स्ट्रीट लाईटको व्यवस्था गर्ने, नपरेका योजनाहरुलाई आगामी परिषद्मा पार्ने, धोवीघाट निर्माण गर्ने, सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमको सुरुवात गर्ने लगायतका , जेष्ठ नागरिकका लागि विश्राम स्थल निर्माण गर्ने मेरा एजेण्डा रहेका छन् ।

तपाई निर्वाचन लडिरहेको क्षेत्र काँग्रेसका हस्ती डा.शेखर कोइरालाको प्रभाव क्षेत्र हो ? कसरी चुनाव जितिन्छ ?

हो, यस क्षेत्रबाट डा.शेखर कोइरालाले चुनाव जित्नुभयो तर यहाँका जनताले यति ठुलो नेता जिताउँदा पनि विकासको अनुभुतीगर्न पाएनन् । साच्चै उहाँँले चाँहेको भएनिकै काम हु्न्थ्यो । तर, त्यो भएन । जनतामा व्यापक असन्तुष्टी छ । त्यसैले पनि एमालेले चुनाव जित्छ । र, जितिन्छ ।

मुख्य प्रतिष्पर्धा कोसँग हुन्छ ?

पहिलो चरणको स्थानीय तह निर्वाचनको परिणामले पनि देखाईसकेको छ । एमालेको मुख्यप्रतिष्पर्धी दल भनेको नेपाली काँग्रेस नै हो । अन्यसँग एमालेको प्रतिष्पर्धा हुँदैन । यो प्रतिष्पर्धा फेरि यस पटक मात्रै हैन यसअघि भएका निर्वाचनले पनि त्यो देखाएको छ । काँग्रेस प्रतिष्पर्धी दल मात्रै देखिएको छ । तर मतअन्तरका आधारमा म धेरै नै अघि रहेको छु । जुन असार १४ पछिको परिणामले पनि देखाउने छ ।

चुनावी एजेण्डा त छदैछन्, अहिले सम्मका तपाईको क्रियाशिलतालाई कसरी जनताले मूल्यांकन गरेर मतदान गर्नु ?

म विराटनगर ६ को सामाजिक तथा राजनीतिक कार्यक्रमहरुमा सक्रियता पूर्वक लागेको छु । विभिन्न सामाजिक संघ संस्थामा क्रियाशिल पनि छु । नेपाल घरेलु उद्योग महासंघ मोरङको कोषाध्यक्ष, शिक्षक हित वचत तथा ऋण सहकारी संस्था विराटनगरको सचिव, अविराम युवा क्लवको पुर्व उपाध्यक्ष, वाटो निर्माण समिति लगायतमा पनि कार्य गरिसकेको छु । त्यसले पनि मूल्यांकलन हुनेमा म विश्वस्त छु ।