काठमाडौं, १० असार । काभ्रेली डान अर्थात गुन्डाहरूले आफ्नै गृह जिल्ला काभ्रेमा आतंक मच्चाएका छन् । उनीहरू अरु विषयमा नभइ पैसा कुम्ल्याउन एकअर्काका दुश्मन बनेका हुन् ।
विशेष गरेर उनीहरूले बोधिचित्तको फलमा आँखा लगाउँदा स्थानीय प्रशासनलाई शान्ति सुरक्षा बनाउन चुनौती थपिएको छ ।
कथित डन गणेश लामा समूहले बोधिचित्तको फलमा दाबी गरेपछि विवादले उग्ररुप लिएको थियो । प्रशासनले बाध्य भएर बोधिचित्तको फलमा हस्तक्षेप गरेर नियन्त्रणमा लिनु परेको स्रोतको भनाइ छ ।
विवादमा परेको बोधिचित्तको फललाई जिल्ला प्रशासन कार्यालय काभ्रेले सत्य लामाको समूहलाई जिम्मा लगाएको छ । सत्य लामा समूहले बोधिचित्त पाएपछि विवाद अन्त्य भएको दावी गरिएको छ । तर, गणेश लामा समूह भने कमिशन नपाएको भन्दै ‘आगो’ बनेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले बोधिचित्तको बोटधनी ठगुरानी तामाङसँगको बयानका आधारमा सत्य लामालाई बोधिचित्त दिएको बताइएको छ ।
धेरै पैसा कमाइ हुने लोभले गणेश लामा समूहले बोधिचित्तको बोट र फल कब्जामा लिएको थियो । पछि प्रहरीले हस्तक्षेप गरेर केही आर्थिक लेनदेनमा कुरा मिलाएको स्रोतको दाबी छ ।
बोधिचित्तको फल र रुखमा सत्य लामा, गणेश लामा र सुनिल लामाले दाबी गर्दै आएका थिए । यद्यपि सो फलको मूल्य ८० लाख तोकेर सत्य लामाले बोटधनीलाई पहिला नै पैसा दिएको प्रहरी स्रोतको दाबी छ ।
बोधिचित्तको फलमा अर्का गुन्डा नाइके दावा लामा समूहले पनि दाबी गरेको थियो । दावा हाल सिङ्गापुरतिर रहे पनि उनले आफ्ना गुन्डाहरूलाई लगाएर कमिशन माग गरेको स्रोतको भनाइ छ । प्रहरीले निगरानी कडा बनाएपछि दावा लामा फरार छन् ।
















प्रतिक्रिया