३१ आश्विन २०८३, शनिबार

मनाङ र मुस्ताङमा ६० भन्दा बढी पर्यटक अझै सम्पर्कविहीन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Annapurna-ma-himpat-army

काठमाडौँ, ३ कार्तिक । मनाङ र मुस्ताङमा हिमपातका कारण अझै पनि ६० भन्दा बढी पर्यटक अलपत्र परेको बताइएको छ ।

गत असोज २७ र २८ गते भएको हिमपातमा परेर मनाङबाट मुस्ताङका लागि हिँडेकामध्ये अझै ५० भन्दा बढी विदेशी नागरिक सम्र्पकविहीन रहेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) जोमसोमले जनाएको छ ।

अन्नपूर्ण पदयात्राको साहसिक गन्तव्य थोराङ्ला भञ्ज्याङ पास गर्न मनाङबाट मुस्ताङतर्फ हिँडेका ३५६ विदेशी नागरिकमध्ये आइतबारसम्म २९६ जना सम्पर्कमा आएको एक्याप जोमसोमका प्रमुख बिदुर कुर्इंकेलले बताउनुभयो ।

नेपाली सेनाले गत असोज २८ गतेदेखि विभिन्न स्थानमा हिमपातका कारण फसेका पदयात्रीको उद्धार सोमबार पनि जारी राखेको छ ।

सेनाको अल्पाइन उद्धार टोलीले आइतबार मनाङको ट्याङ्की इलाकाबाट एक घाइते डचको उद्धार गरी सेनाको इक्युरेल हेलिकप्टरद्वारा काठमाडौँ ल्याएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

त्यसैगरीे मनाङको थोरोङ्फेदी इलाकाबाट एक घाइते नेपालीको सकुशल उद्धार गरी हेलिकप्टरमार्फत चामे इलाकामा ल्याइएको छ । यस्तै मनाङ जिल्लाको फु गाविसमा दुई भारतीयको शव फेला परेको छ ।

मनाङको लेदर र थोराफेदीबीचमा हराइरहेका भारतीय मूलका क्यानडाली एक, नार इलाकामा रहेका नेपाली तीन, फु गाविसमा बाँकी रहेका भारतीय एक तथा क्यानेडाली चारको खोजी जारी रहेको निर्देशनालयले जनाएको छ ।

मुस्ताङमात्रै हिमपातका कारण ज्यान गुमाउने पदयात्रीको सङ्ख्या २३ जना पुगेकोे छ भने २०० भन्दा बढीको उद्धार गरिएको छ ।

मुस्ताङ र मनाङको सिमाना थोराङ्ला भञ्ज्याङमा उद्धार कार्य भने तत्कालका लागि आइतबारदेखि स्थगित भएको छ । उद्धारमा खटिएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली जोमसोम झरेपनि पर्यटक समस्यामा परेको सूचना पाउने बित्तिकै परिचालन गर्नेगरी तयारी अवस्थामा राखिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार मुस्ताङको म्याग्दी र डोल्पा जिल्लाको सीमा क्षेत्रमा थप पर्यटक हराएको हुन सक्ने भएकाले उद्धार कार्यलाई सो क्षेत्रमा केन्द्रित गरिएको हो ।

हिमपातका कारण मुस्ताङ जाने आन्तरिक पर्यटक ह्वात्तै घटेपनि म्याग्दीमा पदयात्राको क्रममा रहेका पदयात्री भने सुरक्षित रहनुका साथै मौसममा सुधार आएपछि पदयात्रालाई निरन्तरता दिइरहेका छन् ।