काठमाडौं, ८ असार । अदालतको आदेशपछि नेपाल स्टक एक्सचेञ्जले एनसीसी बैंकको शेयर कारोबार खुल्ला गरेको छ ।
एनबी ग्रुपको ठूलो जालझेल र षड्यन्त्रपछि जेठ १६ देखि बन्द गरिएको उक्त कारोबार पाटन उच्च अदालतले आफैंले गरेको व्याख्यालाई परिवर्तन गरेर खुल्ला गरेको हो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
अदालतले यसअघि दिएको ‘एपेक्स डेभलपमेन्ट बैंकको कारोबार छुट्टै राख्नू’ भन्ने आदेशकै आधारमा एनसीसीले सो आदेश सेयरको हदमा पनि लागु हुने भन्दै कारोबार रोक्न आफैंले नेप्सेलाई चिठी लेखेको थियो ।
एनबी ग्रुप कालोसूचीमा परेको र एनसीसीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने बेलामा एकाएक अदालतबाट आदेश आएपछि एनबी समूहका जितबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठको षड्यन्त्र बाहिर आएको हो ।
श्रेष्ठ दाजुभाईले एनबीले पैसा हाल्न नसकेपछि लिलामिमा जाने र अर्को ग्रुपलाई भित्र्याउन नदिन अदालतमा उक्त हर्कत अपनाएका थिए । आफ्नो प्रभुत्व घट्न नदिन र राष्ट्र बैंकलाई छारो हाल्नकै लागि एनसीसी र एपेक्स डेभलभमेन्ट बैंकलाई डिमर्ज गराउनका लागि पनि यो खेल खेलिएको थियो ।
शेयरधनीहरुको तीव्र दवावपछि उक्त आदेश शेयरको हदमा लागु नहुने आत्मविश्लेषण अनुरुप नेप्सेलाई कारोबार खुलाउन पत्र लेखियो ।
अदालतको आदेश लागु हुने चरणमा गएको र मुद्दाको अन्तिम फैसला समेत भइनसकेको अवस्थामा यदि कारोबार खुलाउनु पर्ने भए अदालतमा निवेदन दिएर उसको अनुमतिमा मात्र खुलाउनुपर्नेमा एनसीसी बैंक र नेप्सेले अदालतको आदेशविपरित आफ्नै सुरमा एनसीसीको कारोबार खुलाएर गाइजात्रा देखाएका छन् ।
अदालतले दिएको आदेशलाई यसअघि एनसीसी बैंकले शेयर कारोबारको हदमा समेत लागु हुने भन्दै एनसीसीको शेयर र तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकको शेयर छुट्याउन भनि सीडीएसलाई आग्रह गरे पनि उसले शेयरलाई छुट्याउन नसक्ने भनेपछि अवस्था अन्यौलमा थियो ।
एनसीसीले यसअघि नै नेप्सेलाई कारोबार खुलाउन आग्रह गरी पत्र लेखे पनि नेप्सेले मानेको थिएन । तर, मंगलबारदेखि नेप्सेले एकाएक शेयर कारोबार गर्न अनुमति दिएको छ ।
एनसीसीले कारोबार रोक्न भनी नेप्सेलाई २२ दिनअघि चिठी लेख्नुको उद्देश्य एपेक्सलाई अलग्याउनु नै थियो । तर सीडीएसको असहयोगले यो प्रक्रिया लगभग अन्त्य भइसकेको छ । एकीकृत कारोबार पछि सेयर बजारमा खुल्ला भएर ४ महिना कारोेबार हुँदा कम्पनीको ५८ लाख कित्ता शेयर कारोबार भइसकेका थिए ।
एनबी ग्रुप अन्तर्गत कै नेशनल हाइड्रो पावर लिमिटेड(एनएचपीएल) मा २० लाख कित्ता सेयर एनबीकै छ । अहिले उक्त हाइड्रोका अध्यक्ष कुमार पाण्डेको पदावधि सकिएको छ भने उनले श्रेष्ठ दाजुभाईकै स्वार्थमा काम गर्न कम्पनी सचिव र कम्पनी सञ्चालकलाई हटाएका छन् ।
त्यतिमात्र नभई बोर्डको नक्कली माइन्यूट बनाई नविल बैंकमा पेश गरेका छन् । उक्त नक्कली कामलाई नविल बैंकले पनि सहमति दिएर खाता सञ्चालन गर्न अनुमति दिएपछि असन्तुष्ट सञ्चालकहरुले धितोपत्र बोर्डमा उजुरी हालेका छन् ।
उजुरी परेपछि मंगलबारबाट स्टक एक्सचेन्जले सेयर कारोबार रोक्का गरेको छ । नेशनल हाइड्रोको टिडिएस वापत आन्तरिक राजश्वलाई छ करोड बुझाउन बाँकी छ ।
आन्तरिक राजश्वका महानिर्देशक चुडामणी शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्नु अघि उक्त रकम मिनाहाका लागि श्रेष्ठ दाजुभाईले पहल गरेका थिए । तर, बार्गेनिङ नमिलेपछि उक्त फाइल पेन्डिङमा बसेको छ ।















प्रतिक्रिया