
काठमाडौं, ७ असार । प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार करिब ८ बजेतिर साइरन बजाउँदै भृकुटीमण्डपमा आइपुगे । कार्यक्रम थियो, भारतीय दूतावासले आयोजना गरेको विश्व योग दिवस । लवेदा सुरुवाल र कोटमा देखिएका प्रधानमन्त्री देउवालाई भारतीय राजदूत मन्जीवसिंह पुरीले स्वागत गरे ।
तर, जब योग अभ्यास सुरु भयो, प्रधानमन्त्रीले हँसाए । उनले कोट लगाएरै योग अभ्यास सुरु गरे । प्रधानमन्त्रीको शैली देखेर सहभागीहरु मुसुमुसु हाँसिरहेका थिए । मन्त्री गोपालमान श्रेष्ठ, भारतीय राजदूत पुरी लगायत मञ्चमा रहेका सबै टिसर्टमा देखिएका थिए । तर, कार्यक्रमका प्रमुख अतिथि रहेका देउवा भने कोटमै योगा गर्न तम्सिए । उनको अनुहारमा केही असहज भाव झल्किएको थियो ।
प्रधानमन्त्री देउवाले केही भाषण पनि दिए । उनले भने, “योग यस्तो प्राचीन विधि हो, जसले मानिसलाई कुलतबाट मुक्ति दिन्छ, आनन्द दिन्छ । बालबालिकाले सुरु गरे भने उनीहरुको शिक्षालाई पनि सहयोग पुग्छ ।” उनले स्कूल तहदेखि नै योगा सुरु गर्नुपर्ने पनि बताए ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले आचार्य बालकृष्णबाट लिखित ‘दैनन्दिन योगाभ्यास’ र नेपालका लागि भारतीय दूतावासले प्रकाशन गरेको ‘योग सन्देश’ पुस्तकको विमोचन गरे । कार्यक्रममा सहभागीले शान्ति, आनन्द र स्वस्थ्यका लागि नियमित योग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा पतञ्जलि योग समिति, नेपालका प्रमुख योगगुरु लवदेव मिश्रले योग अभ्यास गराएका थिए । छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घले मान्यता दिएपछि हरेक बर्ष जुन २१ लाई विश्वभर विश्व योग दिवस मनाउन थालिएको हो ।

तस्वीरहरुः रासस











प्रतिक्रिया