काठमाडौं । आरएमसी फुड्स प्रालिले दुईवटा महत्वपूर्ण राष्ट्रिय सम्मान प्राप्त गरेको छ । कम्पनी राष्ट्रिय कर दिवस तथा १२ औं उद्योग दिवसका अवसरमा सम्मानित भएको हो ।
कम्पनी आर्थिक वर्ष २०८१/०८२ मा आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरअन्तर्गत उद्योगतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको हो ।
सोमबार ‘कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ आयोजित राष्ट्रिय कर दिवस–२०८३ को विशेष समारोहमा आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका प्रमुख कर अधिकृत मुकुन्द पोखरेल तथा आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालद्वारा संयुक्त रूपमा हस्ताक्षरित सम्मानपत्र कम्पनीका निर्देशक यश अग्रवाललाई प्रदान गरिएको थियो ।

त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०८२/०८३ मा नेपालबाट सबैभन्दा बढी रकमको वस्तु तथा सेवा निर्यात गर्ने स्वदेशी कम्पनीका रूपमा ‘उत्कृष्ट स्वदेशी निर्यातकर्ता’ सम्मान प्राप्त गरेको हो ।
‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ बुधबार काठमाडौंमा आयोजित १२ औं उद्योग दिवसको विशेष समारोहमा भन्सार विभागको सिफारिसका आधारमा कम्पनीलाई उत्कृष्ट स्वदेशी निर्यातकर्ताको सम्मान प्रदान गरिएको हो ।
समारोहका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले सम्मानपत्र प्रदान गरेका थिए ।
आरएमसी ग्रुपअन्तर्गत सञ्चालित आरएमसी फुड्स प्रालिले बाराको जीतपुरस्थित अत्याधुनिक उद्योगमार्फत प्रशोधित खाद्य तेल (विशेषगरी न्युट्रिप्लस ब्रान्ड) लगायतका गुणस्तरीय खाद्य सामग्री उत्पादन तथा निर्यात गर्दै आएको छ ।
नेपाल उद्योग परिसंघ (सीएनआई)का निवर्तमान अध्यक्ष समेत रहेका राजेशकुमार अग्रवालले भने, “नेपाल सरकारबाट प्राप्त यो सम्मानले हामीलाई स्वदेशी उत्पादनको गुणस्तर अभिवृद्धि गर्न र अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्रान्डको पहुँच विस्तार गर्न थप ऊर्जा प्रदान गरेको छ । देशको व्यापार घाटा न्यूनीकरण तथा दिगो आर्थिक विकासका लागि निर्यात प्रवर्द्धनमा हाम्रो प्रतिबद्धता सधैँ अग्रपंक्तिमा रहनेछ ।”











प्रतिक्रिया