१ कार्तिक २०८३, आइतबार

मोदीले नबोलाई भारत जान तम्सिए देउवा, भारतीय विदेश मन्त्रालय नै अलमलमा

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, ७ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको हतारो देखाएका छन् । औपचारिक रुपमा नबोलाइए पनि भारतको स्वतन्त्रता दिवसका अवसर पारेर आगामी अगष्ट १५ मा देउवाले भ्रमण गर्ने इच्छा देखाएका हुन् । भारत जान आतुर रहेको अभिव्यक्ति दिइसकेका देउवाले हतारो देखाएपछि भारतस्थित नेपाल दूतावासले भारतको विदेश मन्त्रालयसँग छलफल अगाडि बढाएको छ ।

प्रधानमन्त्री हुनासाथ देउवालाई भारतले भ्रमणको निम्ता दिएको थियो । उपयुक्त मिति तोक्ने विषयमा दुवै देशका अधिकारीबीच छलफल पनि भइरहेको छ । तर, देउवाले भारतीय स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुने गरी अगष्ट १५ मा भारत भ्रमण गर्ने इच्छा देखाएपछि नेपाली दूतावासले पनि सोही मिति उपयुक्त हुने सुझाव भारतीय पक्षलाई दिएको स्रोतले बतायो ।

भारतले स्वतन्त्रता दिवसका बेला विदेशी पाहुनाहरुलाई विरलै बोलाउने गरेको छ ।गणतन्त्र दिवसका अवसरमा मात्रै विदेशी सरकार प्रमुखलाई प्रमुख अतिथिका रूपमा निम्ता गर्ने गरेको छ । दुई दशकअघि राजा वीरेन्द्रलाई भारतले गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथि बनाएर डाकेको थियो । देउवालाई बोलाउँदा पनि उच्चस्तरीय सम्मान र तयारी गर्नुपर्ने भएको हुँदा भारतीय विदेश मन्त्रालय नै अलमलमा परेको स्रोतले बताएको छ ।

प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गरेको एकबर्ष पनि बितेको छैन् । प्रचण्डले गतबर्षको भदौ अन्तिमदेखि असोज पहिलो सातासम्म भारतको भ्रमण गरेका थिए ।

प्रधानमन्त्री देउवाको भारत भ्रमण सकिएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि नेपाल भ्रमण गराउने योजनामा दिल्लीस्थित नेपाली दूताबास लागिरहेको छ । यसअघि मोदीको जनकपुर, मुक्तिनाथ र लुम्बिनी भ्रमण रद्द भएको थियो । यसपटक भने अरुण तेस्रो जलविद्युत् आयोजनाको समेत शुभारम्भ गर्ने गरी मोदी नेपाल आउन इच्छुक देखिएका छन् ।