गाईघाट, ६ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा नेकपा एमाले उदयपुरले खाता खोलेको छ । एमालेबाट रौतामाई गाउँपालिका वडा नं १ को दलिततर्फको वडा सदस्य पदमा तिलुमाया विक निर्विरोध निर्वाचित हुनु भएको हो ।
प्रतिस्पर्धी काँग्रेसकी अमृता माया विकले मंगलबार उम्मेदवारी फिर्ता लिएपछि उहाँ निर्विरोध हुनु भएको हो । यद्यपी निर्वाचन कार्यालयले आधिकारिक रुपमा निर्वाचित भएको घोषणा गरिसकेको छैन् ।
रौतामाई गाउँपालिकाका निर्वाचन अधिकृत शंकरराज लुईटेलले काँग्रेस उम्मेदवार फिर्ता लिएको भएता पनि निर्वाचन कार्यालयले नभनेसम्म आफूले निर्वाचित भएको घोषणा गर्न नमिल्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘दुई पार्टीको दुई जनाको मात्र परेको थियो, त्यसमा काँग्रेसका उम्मेदवारले फिर्ता लिई सक्नु भएको छ ।’ असार ४ गते भएको उमेदवारी दर्तामा माओबादी केन्द्र लगायतका अन्य कुनै पनि पार्टीले उक्त पदमा उमेदवारी नगरेको उहाँले बताउनुभयो ।
अमृताले मंगलबार विहान निर्वाचन अधिकृत समक्ष आफ्नो व्यवहारिक कारण देखाई उम्मेदवारी फिर्ता लिएको निवेदन दिएपछि तिलुमया निर्विरोध निर्वाचित हुनु भएको हो ।












प्रतिक्रिया