१ कार्तिक २०८३, आइतबार

भरतपुर प्रकरण: सर्वाेच्चबाट मतगणना सुचारुको फैसला आउने शंकाले सत्ता गठबन्धनमा खैलाबैला !

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतगणना सुचारु हुनेगरी फैसला सुनाउने शंकाले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको सत्ता गठबन्धनमा खैलाबैला भएको छ ।

यसको संकेत कांग्रेसका प्रभावशाली नेता एवं पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले गरेका छन् । चुनावी प्रचार प्रसारको सिलसिलामा चितवन पुगेका निधिले मंगलबार भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वाेच्च अदालत जान नहुने बताएका हुन् ।

भरतपुर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले मंगलबार अन्तिम फैसला सुनाउने तयारी गरेको थियो । तर, कायम–मुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले च्यातिएका मतपत्र, मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथि लगाइएको मुद्दाको फाइल र निर्वाचन आयोगको निर्णयको सक्कल प्रति झिकाउन आदेश दिएको छ । पुनः मतदान होइन् नभई रोकिएको मतगणना सुचारु हुने गरी फैसला आउनेमा रिट पक्षका कानुन व्यवसायी ढुक्क दिएका छन् ।

सर्वोच्चमा विचाराधिन रहेकै बेला निधिले चितवन पुगेर भरतपुर महानगरपालिका–१९ को पुनः मतदान गर्न सर्वोच्चले रोक्न नहुने जिकिर गरेका हुन् । निर्वाचन आयोगले पुनः मतदान गर्ने भनिसकेकाले अब सर्वोच्च अदालत संवैधानिक आयोगको निर्णयविरुद्ध जान नसक्ने उनको तर्क छ ।

यद्यपी उनले सर्वोच्चको निर्णय पुनः मतदानमै आउने विश्वास पनि गरे । ‘सर्वाेच्चको फैसलापछि कुनै पनि समयमा वडा नम्बर १९ को मतदान हुन्छ । सबैजना निर्वाचनको तयारीमा लाग्नुस्,’ निधिले कार्यकर्ताहरुमा आह्वान गरे ।

पहिलो चरणको स्थानीय निर्वाचनअन्तर्गत भरतपुरमा मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो ।

तर, उक्त निर्णयविरुद्ध रिट दायर गर्दै वडा सदस्यका उम्मेद्वार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन ऐनको दफा ५१ बमोजिम च्यातिएका मतपत्र बदर गरी बाँकी मतपत्रको गणना गर्न माग गरेका थिए ।

भरतपुरमा कांग्रेस माओवादी गठबन्धनबाट प्रचण्डपुत्री रेणु दाहाल र एमालेका उम्मेदवार देवी ज्ञवालीबीच कडा प्रतिस्पर्धा छ ।