पोखरा, ५ असार । राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रवन्ध सञ्चालक के.बी. उप्रेतीले मुलुकको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारीको भूमिका थप बढाउने खालको सहकारी ऐन ल्याउनु पर्ने बताउनु भएको छ ।
राष्ट्रिय सहकारी बैंक पोखरा शाखाको स्थानान्तरण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रवन्ध सञ्चालक उप्रेतीले नयाँ बन्ने सहकारी ऐनले सहकारी क्षेत्रको प्रवद्र्धनमा योगदान गर्नु पर्नेमा जोड दिनु भएको हो ।
संविधानमा उल्लेख भएको तीन खम्बे अर्थनीति अनुसार राज्यका स्रोत र साधनलाई परिचालन गरी जनताको आर्थिक अवस्थामा सुधार ल्याउन तथा सामाजिक रुपमा रुपान्तरण गर्नका लागि सहकारी ऐन सहकारी मैत्री हुनु पर्ने उहाँको भनाइ थियो ।
सहकारी क्षेत्रको विकासका लागि प्रवद्र्धनकोष स्थापना गर्न र त्यसमा देशभरका सहकारी संघ संस्थाहरुको सहभागिता गराउन राज्यले ध्यान दिनु पर्ने उप्रेतीले बताउनुभयो ।
संघीय संरचना अनुसार स्थानीय तह, प्रदेश र संघमा सहकारीलाई कसरी व्यवस्थित गराउदै उत्पादन, प्रशोधन र बजारीकरणमा यो क्षेत्रलाई लगाउन सकिन्छ भन्ने विषयमा जनप्रतिनिधिहरु सचेत बन्नु पर्ने सुझाव उहाँले दिनु भएको छ ।















प्रतिक्रिया