२१ कार्तिक २०८३, शनिबार

अर्घाखाँचीको भूमिकास्थानमा एमालेको सपना: स्मार्ट स्कूल, ई-सरकार र युवा रोजगार बैंक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा एमालेका मेयर उम्मेदवार पिताम्बर भुसाल र उपमेयर उम्मेदवार सुनिता बेल्बासेले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गर्दै आफूहरुले जिते युवाहरुको विदेश पलायन रोक्न युवा स्वरोजगार बैंक स्थापना गर्ने प्रतिवद्दता गरेका छन्। ४ पृष्ठ लामो घोषणापत्रमा उनीहरुले नगरमा ‘स्मार्ट स्कुल’, ई‍-शिक्षा र ई‌‍-पुस्तकालय को सुरुवात, सेवा प्रवाह छरितो र प्रभावकारी बनाउन ई-सरकारको अवधारणा लगायतका कार्यक्रम समेटेका छन्।

पार्टीको केन्द्रिय घोषणा पत्रमा मात्र भर नपरि स्थानिय स्तरमै तयार गरिएको निर्वाचन प्रतिवद्दता पत्रमा शिक्षा, स्वास्थ्य, सुशासन, सामाजिक सुरक्षा, कृषि, पूर्वाधार र पर्यटन शिर्षकमा विभिन्न संकल्पहरु समेटिएका छन्। खानेपानी, सडक, बिद्युत र युवा रोजगारीमा विशेष जोड दिइएको छ। घोषणापत्रले नगरभित्र एक रिङ्गरोड सडक निर्माणको परिकल्पना गरेको छ भने टोलटोलमा इन्टरनेटको पहुँच विस्तार गर्दै इन्टरनेटलाई आधारभूत अधिकारको रूपमा विकास गर्ने अवधारणा अगाडि सारेको छ।

घोषणापत्रमा नगरका नीजी विद्यालयहरुले केहि प्रतिशत सिट गरिब, दलित र सिमान्तकृत बिद्यार्थीहरुलाई छुट्याउनु पर्ने प्रावधान राखिएको छ। त्यसैगरि नगरमा एक नमुना विद्यालय र प्रतिभाशालि विद्यार्थीलाई प्रोत्साहन गर्न ‘भुमिका छात्रवृत्ति’को स्थापना गरिने जनाइएको छ। नगरवासीका निम्ति निशुल्क तथा गुणस्तरीय आधारभुत स्वास्थ्य सेवाको ग्यारेन्टी गरिएको घोषणा पत्रमा नगरपालिकाको केन्द्रमा कम्तिमा ५० शैयाको अस्पताल, हरेक टोलमा ‘गाउँ घर स्वास्थ्य क्लीनीक’ र स्वास्थ्य ‘ईमरजेन्सी’ र उद्दार ब्यवस्थापनका लागि प्रत्येक वडामा हेलिप्याड निर्माण गरिने कुरा उल्लेख छ। नगरपालिकामा एमालेले जिते ‘एक वडा एक पुस्तकालय’ र ‘एक वडा एक खेल मैदान’ निर्माण गरिने घोषणा समेत गरिएको छ।

त्यसैगरि सरकारी सेवाप्रवाह आधुनिकीकरण गर्न ई–सरकारको सुरुवात, नगरवासीलाई व्यक्तिगत विवरण सहितको ‘स्मार्ट’ परिचयपत्र वितरण, र जनताका गुनासा सुन्न र जवाफ दिन हरेक वडामा ‘जनता सँग नगर प्रमुख’ कार्यक्रम आयोजना गरिने घोषणा पत्रमा जनाइएको छ। जनताको काम छिटो र चुस्त रूपमा गर्ने कर्मचारी मध्येबाट वार्षिक एक जनालाई ‘भूमिका सुशासन पुरस्कार’ दिइने कुरा पनि घोषणा पत्रमा समेटिएको छ। अत्यन्तै निम्न आयस्रोत रहेका विपन्न परिवारलाई राहत तथा कर छुटको ब्यवस्था, कामकाजी हिला सुत्केरी भएमा ५ महिनाको सुत्केरी विदा र नगरका गरिब तर जेहेन्दार बिद्यार्थीलाई प्राविधिक शिक्षा पढ्न छात्रवृत्तिको ब्यवस्था लगायतका कार्यक्रम पनि घोषणा पत्रमा अटाएका छन्। 

नगरको आफ्नै रेडियो र पत्रिका सञ्चालन गर्ने, लुम्बिनी भम्रणमा रहेका विदेशी पर्यटकहरुलाई आकर्षित गर्ने लक्ष्यसहित एक ट्रेकिङ्ग रुटको सुरुवात गर्ने र रोजगारि सिर्जना गर्न साना तथा मझौला उद्योग स्थापना गर्ने कुरामा पनि घोषणा पत्रको जोड छ।

एक गाउँ एक कृषि उत्पादन, सामुहिक कृषि सहकारी अभियान र जडिवुटीको व्यवसायिक खेती र प्रशोधन उद्योगको स्थापना गर्ने लक्ष्य पनि घोषणा पत्रमा लिइएको छ। प्रत्येक वडामा एक सामुहिक कृषि तथा पशुफर्मको स्थापना गरी तरकारि, मासु र दुधको उत्पादन र विक्रि वितरण गर्ने कुरा पनि घोषणापत्रको प्राथमिकतामा परेको छ।

“स्थानिय स्तरमा समेत यस्तो विस्तृत घोषणापत्र आउनु निकै सकारात्मक कुरा हो,” एक स्थानिय शिक्षकले प्रतिक्रिया दिदै भने, “सबै दल र उम्मेदवारले यस्तै गर्ने हो भने मतदातालाई सक्षम र विकासे भिजन भएको नेतृत्व चुन्न सजिलो हुने थियो।”

नगरपालिकामा एमालेका मेयर उम्मेदवार पिताम्बर भुसाल जिल्लामा लोकप्रिय पुराना कम्युनिष्ट नेता हुन्। भुसालसंग यस अघि अर्घाखाँची जिल्लाको जिल्ला विकास समितिको सभापतिको रुपमा एक कार्यकाल काम गरेको अनुभव छ। जिविस सभापतिको रुपमा भुसालले अर्घाखाँचीमा व्यापक सडक विस्तार गरेका थिए भने जिल्लाका कुनाकाप्चामा खानेपानी पुर्याएका थिए। 

अल्पकालीन योजनामा जनतालाई शुद्ध पिउने पानीको व्यवस्था गर्ने, सडकको स्तोरन्नोति गर्ने र विद्युतीकरण विस्तार गर्ने योजनाहरु रहेपनि नगरको विकासका निम्ती आफूहरुले दिर्घकालिन गुरुयोजना तयार गरेको र त्यसै बमोजिम काम थाल्ने भूसालले बताए।