२१ कार्तिक २०८३, शनिबार

राजपाले गरेको हड्ताल बहानामा विद्यार्थीको भविष्यसँग खेलवाड गर्दै शिक्षकहरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्तोष यादब

सिरहा, ४ असार । आन्दोलनकारी राजपाले शैक्षिक संस्थाहरु बन्द नगर्ने बचनबद्धता प्रकट गरेपनि सिरहाका अधिकांश सामुदायिक विद्यालयहरु बन्द रहेको पाइएको छ । राजपाको आम हड्तालको कारण देखाई सामुदायिक विद्यालयका शिक्षकहरुले विद्यालय बन्द गरी घर बसेका छन् । जबकी राजपाले विद्यालय संचालन गर्न आग्रह गरेको छ ।

तर आईतवार लहान नपा १८ भदैयास्थित श्री राजाजी बाबा आधारभूत विद्यालय, लहान ५ स्थित शिव शक्ति विद्यालय, लहान नपा ६ स्थित ज्ञानोदय आधारभूत विद्यालय र लहान नपा ४ स्थित मधेस शहिद विजय सहनी आधारभूत विद्यालय पुग्दा बन्द रहेको पाइयो । कतिपय विद्यालयमा शिक्षक नै पुगेन भने कतिपय विद्यालयमा शिक्षकहरु पुगेर पनि पढ्न गएका विद्यार्थीहरुलाई फकाइदिए ।

राजाजी बाबा आधारभूत विद्यालय पुग्दा कक्षाकोठा पुरै सुनसान थियो । विद्यालय प्यासेजमा बाख्राहरु बसिरहेका थिए । एक मात्र शिक्षक अफिसमा बसेर काममा व्यस्त थिए । उनले भने– ‘राजपाको हड्तालले जिल्लाका सबै विद्यालय बन्द छ, त्यसैले हामी पनि विद्यालय बन्द राख्यौं ।’ उनी बाहेक अन्य शिक्षक भने आज विद्यालयमा उपस्थित भएका थिएन् ।

जिल्लाका सबै विद्यालय शान्ति क्षेत्र घोषणा भइसकेको छ । शान्ति क्षेत्र घोषणा गर्दा कुनै पनि बहानामा विद्यालय बन्द नगर्ने राजनीतिक दलका नेताहरुले प्रतिवद्धता जनाइसकेका छन् । राजपाका नेताहरु पनि शैक्षिक संस्था बन्दको आह्वान नगरेको बताउँछन् । तर शिक्षकहरु बन्दको बहाना गरेर लाखौं विद्यार्थीको भविष्यसँग खेलवाड गरेका छन् ।

राजपकाका केन्द्रिय सदस्य राकेश झाले आफ्नो आन्दोलनले शैक्षिक संस्थाहरुलाई कुनै असर नगर्ने र विद्यालय बन्द गराउने नीति नलिएको बताए । विद्यालयहरु त बन्द छन् भन्ने प्रश्नमा उनले भने– ‘खै, किन बन्द छ थाहा छैन् ।’