९ मंसिर २०८३, बुधबार

कपिलवस्तुमा बम विस्फोट हुँदा ८ जना घाइते, बालबाल बचे कांग्रेस–माओवादीका उम्मेदवार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– हरि अधिकारी

कपिलवस्तु, ४ असार । कपिलवस्तुको वाणगंगा नगरपालिकाको गजेहडामा अज्ञात समूहले एक शक्तिशाली बम विस्फोट गराएको छ । वाणगंगा नगरपालिका निर्वाचन अधिकृतको कार्यालय देखि डेढसय मिटर पर गजेहडा चोकमा दिउसो साढे १ बजे बम विस्फोट भएको थियो ।

प्रहरीको विट नजिकै अज्ञात समूहले साइकलमा बम राखेर गएको केही समयपछि बम विस्फोट भएको बताइएको छ । सयौंको संख्यामा आएका नेपाली काग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनले मनोनयन दर्ता गर्ने क्रममा उक्त बम विस्फोट भएको हो । बम विस्फोटबाट मनोनयन दर्ता गर्ने क्रमा आएका कार्यकर्ता तथा सर्वसाधारण परेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा वाणगंगा नगरपालिकाका लाल बहादुर थारु मटेरिया, बेजे थारु कोपवा, कमलेश चौहान कोपवा, टेक बहादुर गुप्ता मेटरिया, शाहबुद्धिन कोपवा, टोपकला पौडेल डुगहवा, विजय चौधरी मटेरिया, भुपाल गुरुग तथा शुशीला गुरुग भलवाड र उनको साथमा रहेको एक बच्चा घाइते भएका छन् । उनीहरुमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेहरुको लुम्बिनी अंचल अस्पताल बुटवलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी नायव निरिक्षक प्रकाश केसीले जानकारी दिएका छन् ।

बम विस्फोटपछि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगेको थियो । नेपाली सेनाका निरज गुरुगले अज्ञात समूहले विस्फोट गराएको बम टाइम बम हुनसक्ने जानकारी दिएका छन् ।

बम विस्फोटबाट नजीकैमा रहेका २ वटा घरमा क्षति पुगेको छ भने मोटरसाइकल, स्कोरपियो जीप र बसमा क्षति पुगेको प्रहरीले जनाएको छ । वाणगंगा नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले विहान ८ बजेदेखि उम्मेदवारको मनोनयन पत्र दर्ता गराएको थियो । नेकपा एमालेले विहान ९ बजे नै मेयर उपमेयर सहितका उम्मेदवारको दर्ता गराएका थिए ।