
काठमाडौं, ४ असार । भिवोर सोसाइटी डेभलपमेन्ट बैंकले आफ्नो बैंक डुब्ने अबस्थामा नरहेको प्रष्टीकरण दिएको छ । यसअघि नै मिलिसकेको ‘गुड फर पेमेन्ट’ चेकको बिषयलाई लिएर एउटा समूहले काम गर्न अप्ठेरो अबस्था सिर्जना गरे पनि बैंकका विषयमा अनावश्यक भ्रममा नपर्न बैंकले आग्रह र शेयरधनीहरुलाई आग्रह गरेको छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तिलक पाण्डेले बैंकको आर्थिक अबस्था मजबुत रहेको बताए । तर, मिलिसकेको पुरानो पुरानो विषयलाई उचालेर एउटा समूहले कार्यालय घेर्ने, नाराबाजी र हुलज्जत गर्दा काम गर्न अप्ठेरो भएको उनको भनाइ छ ।

भिबोर बैंकसँग गाभिएको तत्कालिन एच एण्ड बी बैंकको कुलेश्वर शाखाबाट गुड फर पेमेन्ट चेकको दूरुपयोग गरि ८६ करोड रुपैयाँको अनियमितता भएको थियो। त्यही मुद्दालाई लिएर केही दिनदेखि एउटा समूह बैंक घेराउ गरिरहेको थियो। अहिले यो मुद्दा अदालतमा समेत विचाराधिन छ। बैंकले अदालतको आदेश र फैसलाबिना अर्को निर्णय गर्न नसक्ने अवस्था रहेको भन्दै दूरुपयोग गर्नेहरुबाट पैसा उठाएपछि कबुलियत अनुसार बैंक आफ्नो कर्तब्य निर्वाह गर्न सक्षम रहेको विज्ञप्तीमा उल्लेख छ।
बैक घेराउ गर्ने समूहलाई लक्षित गर्दै बैंकले संवेदनशिल क्षेत्रमा अप्राकृतिक वातावरण श्रृजना भएको भन्दै बैंकले त्यस्तो नगर्न आग्रह समेत गरेको छ ।
बैंकका अनुसार, दूरुपयोग भएको चेकका बारेमा बैंक र चेक धारकबीच छलफल भइ प्रतिबद्धता अनुसार पैसा भुक्तानी भइसकेको छ। तर, पनि पटक पटक अस्वाभाविक रुपमा बैंकमा प्रवेश गरेर अप्राकृतिक वातावरण श्रृजना गर्ने काम भएको भन्दै बैंकले सुरक्षा समेत माग गरेको छ।















प्रतिक्रिया