१ कार्तिक २०८३, आइतबार

मनोनयन दर्ता नहुँदै खुमबहादुरको जिल्लामा अन्तरघात, एमालेलाई फाइदा

21.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, ३ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का निकटका नेताहरूले टिकट पाएपछि सानो संख्यामा रहेका बिरोधीहरूले पार्टीभित्र आफ्नै उम्मेदवारहरूलाई हराउन सक्रिय भूमिका खेल्न थालेका छन् ।

विशेष गरेर घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र राप्ती गाउँपालिकामा अन्तरघात सुरु भएको हो ।

कांग्रेसका नेता खड्का निकटका नेताहरूले टिकट पाएपछि रामचन्द्र पौडेल समूह निकट मानिनेहरू आफ्नै पार्टीका उम्मेदवारहरूलाई हराउन सक्रिय भएका हुन् । दाङमा रहेका पौडेल समूहका नेताहरू खड्का समूहका उम्मेदवारलाई हराउनु पर्छ भन्दै गुटबन्दी गर्न थालेको आरोप छ ।

दाङ कांग्रेसका सभापति कीर्तिबहादुर खड्काले पार्टीभित्र टिकटलाई लिएर असन्तुष्टि रहेपनि अन्तरघात नै हुने अवस्था नरहेको बताए । ‘टिकट नपाएका साथीहरू रिसाउनु स्वभाविक पनि हो’, उनले भने, ‘तर अहिले टिकट पाइन भनेर अन्तरघातमा लाग्नु हुन्छ भन्ने मलाइ लाग्दैन । असन्तुष्ट नेताहरूसँग सल्लाह गरेर मनाउने प्रयास गर्नेछु ।’

घोराही उपमहानगरको मेयरमा भुपबहादुर डाँगी र तुलसीपुर उपमहानगरमा गेहेन्द्र गिरीले टिकट पाएका छन् । लमही नगरमा जोगेन्द्र चौधरी तथा राप्ती गाउँपालिकामा नुमानन्द सुवेदीले टिकट पाएका छन् । यी चारजनालाई हराउन पौडेल समूह क्रियाशील भएको एक कांग्रेसी नेताले बताए ।

दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेसले पाँच वटै निर्वाचन क्षेत्रमा जित हासिल गरेको थियो । दाङमा कांग्रेस र एमालेबीच नै कडा प्रतिस्पर्धा रहेको दुबै दलका नेताहरू बताउँछन् ।

कांग्रेसभित्रको अन्तरघातका कारण एमालेका उम्मेदवारहरूलाई फाइदा पुग्ने देखिन्छ । घोराही र तुलसीपुर उपमहानगरपालिकामा यसपटक एमालेले मेयर र उपमेयरमा लोकप्रिय नेताहरूलाई टिकट दिएको छ । तुलसीपुरमा घनश्याम पाण्डे र घोराहीमा नरुलाल चौधरीले टिकट पाएका छन् ।