२९ आश्विन २०८३, बिहिबार

इबोलाविरुद्धको लडाइँमा विश्व नै पराजित हुने खतरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ebolaजेनेभा, १ कात्तिक । हाल फैलिरहेको इबोलाको महामारीका विषयमा विश्वव्यापी रूपमा देखिएको त्रासबीच संयुक्त राष्ट्रसंघले यस रोगसँगको संघर्षमा थप रकम उपलब्ध गराउने बचन दिएको छ ।

विश्व बैंकले भने यस रोगका विषाणुसँगको संघर्षमा पराजित हुन सकिने चिन्ता व्यक्त गरेको छ ।

इबोलाको विषाणुको हाल विश्वमा सबैभन्दा नराम्रोसंक्रमणबीच मृतकको संख्या चार हजार ५०० नाघेको छ ।

अर्कोतिर सेनेगललाई विश्व स्वास्थ्य संगठनले इबोलामुक्त मुलुकका रूपमा घोषणा गरेको छ र यहाँ आशाको सानो संकेत देखापरेको छ ।

अमेरिकालाई हाल ‘इबोला सम्राट’ नाम दिइएको छ र उसले यस रोगविरुद्ध समन्वयकारी भूमिका निर्वाह गरेको छ । टेक्सासको अस्पतालमा लाइबेरियामा इबोला लागेका बिरामीलाई दिइएको उपचार र यी बिरामीलाई उपचार गर्ने क्रममा भएको संक्रमणका विषयमा अमेरिकाको आलोचना भएको छ ।

अर्कोतिर बेलायती औषधि उत्पादक संस्था ग्लाक्सोस्मिथक्लाइनले सन् २०१६ को अन्त्यसम्म पनि इबोलाविरुद्धको खोप तयार हुन नसक्ने आशंका गरेको छ ।

भदयबि)खष्चगकविश्व बैंककका प्रमुख जिम योङ किमले विश्व यस रोगसँगको संघर्षमा पराजित हुन सक्ने चेतावनी दिएका छन् । उनले यस रोगलाई पराजित गर्न अन्तर्राष्ट्रिय एकताको अभाव भएको बताएका छन् । उनले पेरिसमा पत्रकारहरूलाई मुलुकहरू आफ्नो सीमाप्रति मात्र चिन्तित भएको बताए ।

अक्टोबर १४ तारिखसम्म इबोलाका कारण चार हजार ५५५ व्यक्तिको मृत्यु भइसकेको र सात मुलुकमा यस रोगका नौ हजार २१६ बिरामी देखापरेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

यस रोगका प्रायः मुत्यु अफ्रिकाका पश्चिमी भागमा पर्ने र यो रोग फैलन थालेका मुलुक गिनी, लाइबेरिया तथा सियरा लियोनमा भएका छन् ।

विशेषज्ञहरूले डिसेम्बरको आरम्भदेखि यो रोग प्रतिसाता १० हजार व्यक्तिमा फैलन सक्ने चेतावनी दिएका छन् ।

राष्ट्रसंघले यस रोगविरुद्ध संघर्ष गर्न एक अब अमेरिकी डलर बराबरको सहयोगको माग गरेकोमा ४० प्रतिशत मात्र प्राप्त भएको जानकारी दिएको छ ।

समन्वयात्मक मानवीय मामिलाका लागि राष्ट्रसंघको कार्यालयले हालसम्म यसका लागि ३७ करोड ७० लाख अमेरिकी डलर प्राप्त भएको र २१ करोड ७० लाख अमेरिकी डलर उपलब्ध गराउने बचन प्राप्त भएको जानकारी दिएको छ ।

यस संस्थाका प्रवक्ता जेन्स लार्कले जेनेभामा पत्रकारहरूलाई हाल यो रकम पनि बैंकमा नभएको बताए । इबोलाविरुद्ध राष्ट्रसंघको कोषले दुई करोड अमेरिकी डलर उपलब्ध गराउने बचन प्राप्त भए पनि खातामा एक लाख अमेरिकी डलर मात्र भएको जानकारी दिएको छ ।

यस परिस्थितिले आफ्नो संस्थालाई निकै गम्भीर समस्यामा पारदिएको संयुक्त राष्ट्र संघका महासचिव बान कि–मुनले बताएका छन् । उनले बचनहरू कार्यान्वयन गर्नुपर्ने समय आएको बताए । उनले आफ्नो संस्थालाई बढी चिकित्सक, नर्स, उपकरण, उपचार केन्द्र तथा चिकित्साका लागि अन्यत्र लैजान सक्ने क्षमता आवश्यक भएको बताए ।

विभिन्न मुलुकमा विमानस्थलमा स्वास्थ्य परीक्षणको बढ्दो व्यवस्था भए पनि हाल यस रोगप्रति त्रास बढिरहेको छ । एयर फ्रान्सका कर्मचारीहरूले गिनीबाट आफ्नो देशमा आउने उडान बन्द गर्न आग्रह गरेका छन् । अफ्रिकाको पश्चिमी भागमा पर्ने यो मुलुक इबोलाबाट प्रभावित छ ।

विमान चालक दल तथा व्यापारिक क्षेत्रमा काम गर्ने कर्मचारीहरूका दुई संघले एयर फ्रान्सको पेरिस तथा कोनाक्रीबीचको दैनिक उडानले आफ्नो मुलुकमा यो रोगको महामारी फैलाउनसक्ने जोखिम ल्याइरहेको दाबी गरेका छन् ।

फ्रान्सले शनिबारदेखि गिनीबाट आइपुग्ने यात्रुहरूमा स्वास्थ्य परीक्षण आरम्भ गर्नेछ । अमेरिका, बेलायत तथा क्यानडाले विमानस्थलमा इबोलाबाट प्रभावित मुलुकबाट आएका यात्रुमा स्वास्थ्य परीक्षण गर्न थालिसकेका छन् । युरोपेली महासंघले यस विषयमा पुनरावलोकन थालेको छ ।

अमेरिकी स्वास्थ्य अधिकारीहरूले टेक्सासको अस्पतालमा उक्त रोग कसरी फैलियो भन्ने विषयमा प्रश्न गरिरहेका छन् । यस रोगले अफ्रिकाको पश्चिमी क्षेत्रमा संक्रमित ७० प्रतिशत व्यक्तिको मृत्यु गराएको छ ।

अस्पतालमा इबोलाबाट मरेका लाइबेरियाका यी व्यक्तिसँगको सम्पर्कका समयमा अपनाइएको सुरक्षा व्यवस्थाका विषयमा पनि प्रश्न गरिएको छ । यी रोगीको उपचार गर्ने दुई नर्सलाई यस रोगको संक्रमण भएको छ ।

डल्लासबाट क्लेभल्यान्ड उडेकी र यो रोग लागेको पत्ता लागेकी अर्का नर्स अम्बर भिनसनका विषयमा जानकारी प्राप्त गरेपछि रोग नियन्त्रण तथा निवारण केन्द्रले स्वास्थ्य परीक्षण गर्न चाहेका हवाई उडानका यात्रुहरूको संख्या बढेको छ ।

लाइबेरियाका इबोलाबाट प्रभावित व्यक्तिको सम्पर्कमा आएको हुन सक्ने आशङ्का गरिएका टेक्सासका अर्का स्वास्थ्य कार्यकर्ताले क्यारिबियनमा एक जहाजमा आफैंलाई अरूबाट भिन्न राखेकी छन् ।

कार्निभल क्रुइज लाइन्सले यी महिलामा इबोला सङ्क्रमण भएको निकै कम सम्भावना भएको बताए पनि यस जहाजलाई बेलिज तथा मेक्सिकोको बन्दरगाहमा प्रवेश दिइएको थिएन र यसलाई अमेरिकातर्फ फकाईयो ।

अमेरिकी विदेश विभागका उपप्रवक्ता म्यारी हार्फले यो जहाज हाल टेक्सासको गालभनस्टोनतर्फ गएको र त्यहाँ आइतबार पुग्ने बताए ।

इबोलाको संक्रमणपछि ज्वरो आउने, टाउको दुख्ने, पखालालाग्ने, बान्ता हुने तथा केही विरामीमा रक्तस्राव हुने लक्षण देखिन्छ । कुनै व्यक्तिलाई यस रोगको संक्रमण भए र रोगीमा यस प्रकारको लक्षण देख्न थालिएपछि पनि उक्त व्यक्तिको शरीरको तलरपदार्थ अर्थात ¥याल, सिँगान, वीर्य, वान्ता, दिसा वा रगतबाट मात्र अर्को व्यक्तिमा यस रोगका विषाणु सर्न सक्छ ।

विश्व स्वास्थ्य सङ्गठनले १५ वटा मुलुकलाई इबोलासँग संघर्ष गर्न सघाउन प्रयास गरिरहेको छ । उसले स्वास्थ्यकर्मीहरूलाई राम्रोसँग सुरक्षा दिने प्रयास गरिरहेको छ । स्वास्थ्यकर्मीहरूले यस रोगका लागि ठूलो मूल्य चुकाएका छन् । हालसम्म प्रभावित मुलुकमा ४२७ स्वास्थ्यकर्मीमा यो रोगको सङ्क्रम भएको छ र उनीहरूमध्ये २३६ को मृत्यु भइसकेको छ ।

बुरुन्डी, केनिया, रुवान्डा, युगान्डा तथा तान्जानिया सहितको पूर्वी अफ्रिकी समुदायले गिनी, लाइबेरिया तथा सियरा लियोनमा ६०० भन्दा बढी स्वास्थ्यकर्मी पठाउने घोषणा गरेको छ ।

क्युबाले उक्त क्षेत्रमा हालसम्म १६५ स्वास्थ्यकर्मी पठाइसकेको छ भने थप ३०० स्वास्थ्यकर्मी पठाउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री जन केरीले यसका लागि यस मुलुकको प्रशंसा गरेका छन् । इबोला लागेका केही स्वास्थ्यकर्मीलाई अफ्रिकाबाट युरोप ल्याइएको छ । हालसम्म म्याड्रिडमा स्पेनका नर्सलाई मात्र यो रोगले सङ्क्रमण गरेको पुष्टि भएको छ ।

सेनेगलमा भने सानो आशाको सङ्केत देखापरेको छ ।

इबोलाबाट ग्रस्त बिरामी ल्याइएमा के गर्ने भन्ने विषयमा सेनेगलले राम्रो उदाहरण देखाएको विश्व स्वास्थ्य सङ्गठनले जानकारी दिएको छ । सेनेगलले यस रोगलाई विस्तार हुन नदिन तत्कालै पाइला चालेकोमा प्रशंसा गरिएको छ ।

नाइजेरियामा २० व्यक्तिमा यो रोग सरेको थियो र त्यसमा आठको मृत्यु भइसकेको छ । सोमबार यस मुलुकलाई पनि इबोलामुक्त देश घोषणा गरिनेछ । यसो भए पनि यी दुबै मुलुक यो रोगको खतराबाट भने मुक्त छैनन् । एएफपी