३१ आश्विन २०८३, शनिबार

धामीझाँक्रीको भर पर्दा रेबिज लागेका १३ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट (आलीमैगान), १ कात्तिक । जाजरकोटको अति दुर्गम मजकोट गाविसमा धामीझाँक्रीको भर पर्दा रेबिज लागेर १३ जनाको मृत्यु भएको पाइएको छ ।

स्थानीय बासिन्दा हरिबहादुर शाहीका अनुसार बहुलाहा कुकुरले भकाभक गाउँलेलाई टोक्दा रेबिजविरुद्धको भ्याक्सिन लगाउनुको साटो धामीझाँक्रीलाई झारफुक गर्न लगाउँदा यति ठूलो मात्रामा मानवीय क्षति भएको हो । सुरुमा झारफुक गर्दा निको होला भनेर हेलचेक्र्याईं गरियो अहिले कुकुरले टोकेका व्यक्तिहरूको मृत्यु भएपछि झारफुकबाट निको नहुने देखेपछि रेबिजविरुद्धको सुइँ लगाउन जिल्ला स्वास्थ्य कार्यालयमा जाने गरेको शाहीको भनाइ छ ।

बहुलाहा कुकुरको टोकाइबाट मजकोट–६ का ५३ वर्षीय मयाराम उपाध्याय, ३५ वर्षीया कल्धरी शाही, वडा नम्बर ५ का ४३ वर्षीया तुली खत्री, २३ वर्षीया दिला बस्नेत, ५४ वर्षीया कल्पना वरसहित १३ जनाको मृत्यु भएको शाहीले उल्लेख गरे ।  बहुलाहा कुकुरको टोकाइबाट वडा नम्बर ५ र ६ मा मात्र ६० भन्दा बढी पशुचौपाया मरिसकेको स्थानीयको भनाइ छ ।

अहिले पनि बहुलाहा कुकुरले स्थानीयलाई टोकिरहेको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा रेबिजविरुद्धको भ्याक्सिन लगाउन आएका रत्नले भने, ‘धामीको भरमा पर्दा आफ्नै १३ जना दाजुभाइ गुमाउनुप–यो त्यसैले म पनि अस्पताल जान लागेको छु मलाई पनि कुकुरले टोकेको थियो ।’

आफ्नो गाउँमा बहुलाहा कुकुरले जथाभावी टोकेर ठूलो क्षति भयो भनेर स्वास्थ्य कार्यालयलगायतका सरोकारवाला निकायलाई भन्दा पनि कसैले ध्यान दिएनन् अहिले यति ठूलो घटना भयो । मेरो श्रीमान् बित्नुभयो म पनि दैलेख गएर रेविजको औषधि गरेर आएँ अनि जीवन बचाएँ मृतक मयारामकी श्रीमती महिसरी उपाध्यायले दुखेसो पोखिन् ।

मजकोटबाट जाजरकोट सदरमुकाम आउन पैदल दुई दिन लाग्ने गर्दछ । क्षेत्र नम्बर २ लाई लक्षित गरेर दसेरा स्वास्थ्य चौकीमा भ्याक्सिन राख्ने तयारी भए पनि छ महिनादेखि भ्याक्सिन राख्ने फ्रिज खराब भएका कारण सदरमुकामकै भर पर्नुपर्ने बाध्यता भएको दसेरा स्वास्थ्य चौकीका इन्चार्ज रामबहादुर थापाले जानकारी दिए । रासस