
कपिलवस्तु १ असार । कपिलवस्तुमा नेपाली काँग्रेसलाई झट्का लागेको छ । चुनावको मुखैमा नेपाली काँग्रेस कपिलवस्तुका जिल्ला सहसचिव रउफ अहमद खान नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीसँगै नेपाली कांग्रेसका वडा नं ८ का कमल दुबे पनि एमालेमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई नेकपा एमालेका प्रदेश नं ५ का सदस्यहरु टिकाराम अर्याल, खुमप्रसाद आचार्य, निर्वाचन परिचालन कमिटिका संयोजक वावुराम खनालले अबिर लगाई पार्टी प्रवेश गराए ।
पेसा ब्यवसायले कानुन ब्यवसायी समेत रहेका कांग्रेसका कपिलवस्तुका सहसचिव खानले एमालेको नीति र सिद्धान्त राम्रो भएकोले एमालेमा प्रवेश गरेको बताए । प्रवेश गर्नासाथ उनलाई एमालेले कपिलवस्तु नगरपालिकाको मेयरको उम्मेदवार बनाउने घोषणा गरिसकेको छ । तर, एमालेमा प्रवेश गर्दा कुनै सर्त नराखेको र एमाले पार्टी राम्रो लागेको खानले बताए । एमालेले सर्वसम्मत रुपमा जिल्लाको सबैभन्दा पुरानो र ऐतिहासिक कपिलवस्तु नगरपालिकाको मेयरमा उम्मेदवार बनाएकोमा आफू निकै हर्षित भएको उनले बताए ।
यसअघि विहीबार यशोधरा गाउँपालिका र कपिलवस्तु नगरपालिकाका उमेदवारहरुको भेलामा नेपाली कांंगेसका सक्रिय सदस्य एवं कपिलवस्तु यातायात व्यवसायी समितिका अध्यक्ष इमान मुसलमान समेत एमालेमा प्रवेश गरेका थिए । यसैगरी, नेकपा माओवादी केन्द्रका अब्दुल रहमान (सिकन्दर), रामसुभव यादव पनि एमालेमा प्रवेश गरेका छन् । विभिन्न पार्टीका करिब १ सय जना प्रवेश गरेको नेकपा एमालेले जनाएको छ ।
कपिलवस्तु जिल्लामा ६ नगरपालिका र ४ गाउँपालिका गरि १० वटा स्थानिय तह रहेका छन । जसमा नेकपा एमालेले अन्य दलले भन्दा अगाडि नै समावेशी रुपमा उम्मेदवारको टुंगो लगाएको नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिए । नेकपा एमालेको पकड मानिने क्षेत्र वाणगंगा नगरपालिकामा एमालेले विमला घिमिरेलाई मेयर बनाएको छ ।












प्रतिक्रिया