९ मंसिर २०८३, बुधबार

प्रमुख दल र राजपाको बैठक सकियो, कुनै विषयमा सहमति भएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी

काठमाडौं, ३१ जेठ । प्रमुख तीन दल र राष्ट्रिय जनता पार्टीको बैठक विनानिष्कर्ष टुंगिएको छ ।

सिंहदरबारस्थित संसद सचिवालयमा बसेको कांग्रेस, एमाले, माओवादी केन्द्र र राजपाको बैठकमा दोस्रो चरणको स्थानीय निर्वाचन र मधेसका माग सम्बोधन गर्नेबारे छलफल भएपनि सहमति हुन सकेन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले समसामयिक विषयमा छलफल भएपनि कुनै विषयमा सहमति हुननसकेको बताए । ‘बैठकमा आआफ्ना कुरा राखियो,’ श्रेष्ठले भने– ‘भोलि विहान १० बजे बस्ने बैठकमा थप टुंगोमा पुग्छौं ।’

चुनाव सर्छ त भन्ने प्रश्नमा उनले भने– ‘चुनाव असार १४ गते नै हुन्छ, मिति दायाँबायाँ हुन्न् । किनकि दलहरु तयारी गरेका छन् । हामीले पनि गरेका छौं, राजपाले पनि गरिरहेको छ ।’ नेता श्रेष्ठले राजपालाई चुनाव ल्याउनका लागि राजनीतिक र प्राविधिक विषय टुंगो लगाउन भोलि बस्नेगरी आजको बैठक सकिएको बताए ।

यस्तै, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बैठकमा राजपाका नेताहरुले चुनाव सार्नपर्नेजस्तो कुरा गरेको बताए । ‘चुनाव र संविधान संशोधन फरक विषय हुन्, चुनाव असार १४ गते नै गर्नुपर्छ भन्यौ,’ नेम्वाङले भने– ‘राजपाका नेताहरुले गुमाउरो भाषामा सार्नुपर्छ भने, हामीले तोकिएकै मितिमा हुनुपर्छ भन्यौ ।’

आफूहरुले असार १४ का लागि गरिएको सहमति स्मरण गराएपछि प्रधानमन्त्रीले शेरबहादुर देउवाले आफू तोकिएकै मितिमा निर्वाचन गराउन तयार रहेको बताएको नेम्वाङले जानकारी दिए ।

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता मातृका यादव कृष्ण महरा, एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्धय माधव नेपाल, झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए । त्यस्तै, राजपाबाट महन्थ ठाकुर, शरदसिंह भण्डारी, महेन्द्रनराय यादव लगायत नेता सहभागी थिए ।