९ मंसिर २०८३, बुधबार

चुनाव सारेपनि राजपाले निर्वाचनमा भाग नलिने, यस्तो छ बटमलाइन

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । राष्ट्रिय जनता पार्टीका नेता वृषेशचन्द्र लालले आफूहरु चुनाव सारेपनि भाग नलिने स्पष्ट पारेका छन् । संविधान संशोधन नभएसम्म कुनैपनि निर्वाचनमा भाग नलिने उनको भनाई छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लालले संविधान संशोधन गर्छु भनेर सरकारले पटक–पटक लिखित सम्झौता समेत गरिसकेको तर अहिलेसम्म कुनैपनि सम्झौता कार्यान्वयन नगरेकोले यसपटक सरकारको जालझेलमा नपर्ने बताएका हुन् । उनले भने, ‘संविधान संशोधन नभएसम्म हामी कुनैपनि निर्वाचनमा भाग लिँदैनौं, किनकी सरकारले धेरै पटक संशोधन गर्छु भनेर हामीलाई झुक्याउने काम भएको छ, अब हामी झुक्किनेवाला छैनौं ।’

संविधान संशोधनमार्फत मधेशी, जनजाति, आदिवासीलगायतका माँगहरु पूरा गर्नुपर्छ भनेर हामी निरन्तर आन्दोलनमा रहेको भन्दै उनले चुनावको मिति सार्नु वा नसार्नु भन्नेबारे आफूहरुको कुनै चासो नभएको बताए ।

नेता लालले भने, ‘चुनावको मिति सारियोस् वा नसारियोस् यो हाम्रो चासोको विषय होईन, तर अहिले हामीलाई यसमा मुछ्ने काम गरिएको छ, यो सुनियोजित प्रचार मात्रै हो, यसमा कुनै सत्यता छैन् ।’

त्यस्तै उनले चुनाव चिन्ह पनि आफूहरुले अहिले नमाँगेको जिकिर गरे । लालले थपे, ‘हाम्रो मुख्य माँग भन्नुहोस् या बटमलाईन त्यो भनेको संविधान संशोधन मात्रै हो ।’ उनले आफूहरुले उठाएका माँगहरु पूरा नभएसम्म आन्दोलन जारी रहने बताए ।

उनले आफूहरुले उठाएका राजनीतिक मुद्दामा आन्दोलनका क्रममा आफ्ना कार्यकर्ताहरुलाई लगाईएका झुठा मुद्दा खारेज गर्नुपर्ने, बाँकी ९ जनालाई सहिद घोषणा गर्नुपर्ने, स्थानीय तहको संख्या जनसंख्याको आधारमा निर्धारण गर्नुपर्ने रहेको पनि सुनाए ।

‘उपेन्द्रजीले दबाब थेग्न सक्नुहुन्न, पछि आन्दोलनमा आउनै पर्छ’

उपेन्द्र यादवले आन्दोलनबाट विश्राम लिएको समेत आरोप लगाउँदै उनले भने, ‘उपेन्द्र यादवजीले अहिले विश्राम लिन चाहनुभएको छ, आन्दोलनलाई महत्व दिएका छैनन् ।’ तराई मधेशमा उपेन्द्र यादवले जनताको दबाब थेग्न नसक्ने समेत लालले ठोकुवा गरे । उनले भने, ‘हामीलाई विश्वास छ, उपेन्द्रजीले जनताको दबाब थेग्न सक्नुहुन्न, उहाँपछि आन्दोलनमा आउनुपर्छ, उहाँलाई हामी स्वागत नै गर्छौं ।’