काठमाडौं, ३० जेठ । प्रमुख दलका शीर्ष नेताहरूबीच भएको वार्तामा निर्वाचनको मिति सार्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले घुमाउरो भाषामा प्रस्ताव गरेका छन् ।
सिंहदरबारमा मंगलबार साँझ बसेको शीर्ष नेताहरूको बैठकमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन सार्नका लागि प्रधानमन्त्री देउवाले प्रस्ताव गरेका हुन् । उनको यो प्रस्तावको एमालेले चर्को विरोध गरेको छ ।
बैठकपछि सम्वाददाताहरूसँग कुरा गर्दै एमालेका अध्यक्ष केपी ओलीले असार १४ गतेको निर्वाचन कुनै पनि हालतमा सार्न नहुने बताए ।
उनले भने, ‘असार १४ गतेको निर्वाचन सार्न हुँदैन पक्षमा हाम्रो कुरा राख्यौँ । उहाँहरू त्यसबाट भाग्न खोजेको हो कि भन्ने देखिएको छ ।’
अध्यक्ष ओलीले भने, ‘हामीले सोँचेका थियौँ कसरी चुनाव गर्ने भन्नेबारेमा कुरा हुन्छ होला । पहिलो चरणको अनुभव लिएर दोस्रो चरणको निर्वाचन गर्ने कुरा गर्नु हुन्छ होला भनेका थियौँ । तर, यहाँ आउँदा त उहाँहरू भन्नभन्न खोज्ने अलिक अप्ठ्योर परिस्थिति छ पनि भन्ने । भन्नभन्न खोज्यो कुरा अड्किन्छ ।’
‘निर्वाचनको मिति सार्न खोजेको हो कि ? नगर्ने खोजेको हो ?’, ओलीले भने, ‘चुनाव असार १४ गते हुन्छ । त्यसबाट भाग्न खोजेको हो कि भन्ने देखिन्छ । सरकार गम्भीर देखिदैन ।’
महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन बहिष्कार गर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि सत्तारुढ दलहरूले दुई र पाँच नम्बर प्रदेशको चुनाव सार्ने तयारी गरेको हो ।
राजपा नेपालको प्रस्ताव अनुसार निर्वाचन सार्ने सत्तारुढ दलहरूको तयारीको प्रमुख विपक्षी दल एमाले र संघीय समाजवादी फोरम नेपालले विरोध जनाइ सकेको छ ।
प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिकका शीर्ष नेताहरूको सहभागिता रहेको थियो ।












प्रतिक्रिया