काठमाडौं । बाल रंगमञ्चको अन्तर्राष्ट्रिय छाता संगठन आसितेज इन्टरनेशनल (एशोसियसन अफ थिएटर फर चिल्ड्रेन एण्ड योंग पिपल)ले आयोजना गर्ने ‘इन्टरनेशनल डाइरेक्टर सेमिनार’ जर्मनीमा सुरु भएको छ । यसपटक यस सेमिनारमा नेपाली रंगकर्मी पनि छनौट भई सहभागी भएको खबर सुनाउन पाउँदा आसितेज नेपाल निकै खुशी छ ।
आसितेजको जर्मनी सेन्टर आसितेज जर्मनीले आयोजना गर्ने यस सेमिनारमा आसितेज नेपालको तर्फबाट युवा रंगकर्मी केदार श्रेष्ठ सहभागी हुनुहुन्छ । जर्मनीको ओल्डनवर्गमा यही जुन १२ देखि सुरु भएको सेमिनार १८ जुन सम्म यो सेमिनार हुनेछ ।
आसितेज जर्मनीले छनौट गरेका २३ देशका २६ जना तथा जर्मनीबाट ६ जना गरी ३२ जना रंगमञ्चका निर्देशक (थिएटर डाइरेक्टर)हरु यसपटक इन्टरनेशनल डाइरेक्टर सेमिनारमा सहभागी छन् । ओल्डनवर्ग सहरको थिएटरहरु तथा साँस्कृतिक भवनमा सहभागी देशको सम्मानमा सो देशका झण्डाहरु टाँगिएको नेपालका तर्फबाट सहभागी निर्देशक श्रेष्ठले जानकारी गराउनुभएको छ ।
विगत दशकदेखि नेपाली रंगमञ्चमा सक्रिय श्रेष्ठ आसितेज इन्टरनेशनलको नेपाल सेन्टर ‘आसितेज नेपाल’को सदस्य हुनुहुन्छ । साथै थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) र थिएटर मलका संस्थापक तथा कला निर्देशक हुनुहुन्छ । नेपाली रंगमञ्चमा प्रतिवद्ध युवा रंगकर्मीका रुपमा परिचित उहाा विशेषत: बालसाहित्य र बालरंगमञ्चको विकास र प्रवद्धनमा पनि सक्रिय हुनुहुन्छ ।
यसअघि दुई वर्ष अघि जर्मनीमै आसितेजको ५० औं वर्षमा आयोजना भएको ‘नयाँ पुस्ता– नेक्ट जेनेरेशन’ अन्तर्गत थिएटर फेस्टिभलमा निर्देशक श्रेष्ठ नेपालका तर्फबाट सहभगी भइसक्नुभएको छ । त्यस्तै यसै अप्रिलमा मात्रै उहाँ डेनमार्कको प्रख्यात बालरंगमञ्च महोत्सव ‘अप्रिल फेस्टिवल’मा सहभागी भएर फर्कनुभएको हो ।
४० वर्षदेखि हुँदै आएको इन्टरनेशनल डाइरेक्टर सेमिनारमा हालसम्म विभिन्न देशका ५०० भन्दा बढी निर्देशक र १३ समालोचकहरु सहभागी भइसकेका छन् । यसपटक ‘स्ट्रिट एण्ड क्रसरोड’ भन्ने अवधारणामा हुन लागेको सेमिनारमा ‘सडक बजार हुन सक्छ, त्यहाँ शान्त वा हल्ला दुवै हुनसक्छ र सडक नाटकको मञ्च जीवनको सुन्दर रंगमञ्च हुनसक्छ’ भन्ने परिकल्पनाका बारे चर्चा र छलफल हुनेछ । सहभागी निर्देशकहरुले आफ्नो देशको सडक र कला परम्पराका बारेमा जानकारी साटासाट गर्नेछन् । साथै रंगमञ्चमा विविध पाटोमा निर्देशकहरुका लागि कार्यशाला तथा अन्तरक्रिया पनि सेमिनारका क्रममा हुनेछन् ।
आसितेज नेपालले विगत एक दशकदेखि नेपालमा बालबालिकाका लागि रंगमञ्चको आवश्यकतामा जोड दिँदै विभिन्न कार्यक्रम गर्दै आएको छ । ‘बालबालिकालाई पनि नाटकघर लैजाऔं, उनीहरु पनि देख्न, सुन्न, महसुस गर्न र कल्पना गर्न सक्छन्’ भन्ने अभियान सञ्चालन गर्दै आएको छ ।
















प्रतिक्रिया