पर्वत, ३० जेठ । पर्वत जिल्लाको आर्थरस्थित पञ्चकोशी उच्च माध्यमिक विद्यालयमा गाउँका बालबालिकाको भविष्य उज्वल बनाउने उदेश्य स्वरुप मन्टेश्वरी स्कुल स्थापना गरिएको छ ।
विद्यालयमा अध्ययन गरेका भुपु विद्यार्थीको सहयोगमा कुश्मा नगरपालिका १४ मा रहेको उक्त विद्यालयमा मन्टेश्वरी स्थापना गरिएको हो । सो मन्टेश्वरी स्कुलको आइतबार कादुरी संस्था पोखराको प्राबिधिक निर्देशक ईश्बर नारायण गुरुङले उद्घाटन गरेका हन् ।
बालबालिकालाई ज्ञानसँगै सीप दिने उदेश्यले मन्टेश्वरी स्कुल स्थापना गरिएको पञ्चकोशी भुतपूर्व विद्यार्थी मञ्चका बरिष्ठ उपाध्यक्ष नारन पौडेलले बताए । झण्डै ३० लाखको लगानीबाट सुरु गरिएको मन्टेश्वरीमा सिपिएस विधिबाट सिकाइन्छ । उक्त मन्टेश्वरीमा प्लेग्रुप, नर्सरी र एलकेजी गरी २ सम्म पढाउने तयारी गरिएको छ ।
‘बालमैत्री स्कुल नभएपछि हामीले मन्टश्वरी स्कुल खोलेका हौं’, भुतपूर्व बिद्यार्थी मञ्चका सल्लाहाकार मनोज गुरुङले भने, ‘अधिकांश अभिभावकको इच्छा अनुरुप मन्टेश्वरी स्कुल सुरु गरिएको हो ।’
प्लेग्रुप र नर्सरीसम्म पढाइ भैरहेको मन्टेश्वरीमा २५ जना बालबच्चाले ज्ञान लिन सक्ने छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कादुरी संस्था पोखराको प्राबिधिक निर्देशक नारायण गुरुङले मन्टेस्वरी शिक्षालाई बढी प्रचारमुखी नबनाई सिक्दै र गर्दै जन्ने पद्धतिमा विकास गर्नुपर्ने बताए ।
समय अनुसार शिक्षण पद्धतिमा आएको परिवर्तनलाई आत्मासाथ गर्दै ससाना बालबालिकालाई मन्टेश्वरी विधि अपनाएको निर्देशक गुरुङले बताए । बालबालिकाहरुको ५ देखि ८ वर्षको नाजुक तथा भविष्य निर्धारणको अवस्थामा व्यक्तिगत, पारिवारिक र संस्थागत रुपमा शिक्षा मात्र नभई संरक्षण, पोसण, र स्याहार सुसारको वातावरण यो सस्ंथाले सृजना गर्नुपर्नेमा उनले बताए ।
कार्यक्रममा बोल्दै बिद्यालय निरीक्षक हिमलाल लामिछानेले नेपालभर व्यापक रुपमा रहेको आधुनिक शिक्षण विधि मन्टेश्वरी विधिबाट अध्यापन गराउने भएकोले मन्टेश्वरीले बालबालिकाको जिवनमा सकारात्मक परिवर्तन गर्ने बताए ।
बिद्यालयलाई सुरु सुरुमा मन्टेश्वरी पद्धति कठिन भएतापनि यो विधि आम बालबालिकाहरुमा सहजै स्थापित गरेर मन्टेश्वरी स्कुले बालबालिकाहरुको व्यावहारमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद शर्माले बताए ।
त्यसैगरी कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले विभिन्न चुनौतीका बाबजुद आफुलाइ सफल बनाएको यो मोन्टेश्वरीले अगामि दिनमा यस क्षेत्रमा अझै प्रगति गर्न संस्थापक, शिक्षक तथा अभिभावकले लगनशिल भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
यस मन्टेश्वरीलाई आगामी दिनमा अभिभावकहरुको चाहाना अनुरुप परिस्कृत गर्दै लैजाने सञ्चालकहरुले बताएका छन् । अभिभावकहरु व्यस्त हुंदा बालबालिकाहरुको उपयुक्त हेरचाह गर्ने स्थानको रुपमा फस्टाउँदै गएको मन्टेश्वरी अहिले धेरै अभिभावकहरुको रोजाईको ठाउँ बनेको छ ।












प्रतिक्रिया