सिमरा, २९ जेठ । नेकपा एमालेका नेता एवम् जिल्ला सचिवालय सदस्य डा. कृष्ण पौडेलले सामाजिक बिकासका साथै समृद्ध समाज निर्माणका निम्त एमालेको जित आवश्यक रहेको बताएका छन् ।
जीतपुर सिमरा उपमहानगरपालिका १५ स्थित डुमरवाना भारतीचोक युवा संघ नेपालले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा. पौडेलले एमालेको बिजयले समृद्धिको ढोका खुल्ने भन्दै एमालेको पक्षमा मतदान गर्न आवहन गरेका छन् ।
जनताको चाहना र बिकासका कामलाई प्राथमिकतामा राखेकै कारण पहिलो चरणको निर्वाचनमा पहिलो पार्टी बनेको भन्दै पौडेलले दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्ने बताए । पौडेलले जनताले एमालेको बिकल्प अब कुनै पार्टी हुन नसक्ने बुझिसकेको भन्दै उच्च मनोबलका साथ एमालेको एजेण्डा लिएर जनतामाझ जान उनले कार्यकर्तालाई आग्रह गरे ।
सत्ताको आडमा केही दलले निर्वाचनको परिणामलाई बदल्ने प्रयास गरेर जनताको मतको अवमुल्यन गरेको भन्दै पौडेलले जनताले अब त्यस्तालाई दललाई मत नदिने दाबी उनले गरेका छन् । बिकाससंगै राष्ट्रियताका सवालमा एमालेले खेलेको भूमिका र नेतृत्वको नतिजा पहिलो निर्वाचनमा जनताले दिइसकेको उनको भनाई थियो ।
झण्डै २० बर्षपछि हुन लागेको निर्वाचनलाई मधेसका जनताले उत्साहका स्विकारीसकेको अवस्थामा निर्वाचनको बिरोध गर्नुको कुनै औचित्य नरहेको पौडेलले बताए । स्थानिय सरकार घरआगनमै आउने समयमा निर्वाचनको बिरोध गरेर मधेसका जनताले प्राप्त गर्ने अधिकार नखोस्न समेत उनले आग्रह गरेका छन् । मधेसका जनता निर्वाचनका पक्षमा रहेकाले दोस्रो चरणको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने पौडेलले बताए ।
समाजको मेरुदण्डको रुपमा रहेका युवा शक्तिलाई देशमै स्थापित गर्नका निम्ति एमालेले ल्याएको युवा निति सफल हुदै गएको भन्दै पौडेलले रोजगारीको अभावमा बिदेशीनुपर्ने अवस्थाको समेत अब अन्त्य हुने बताए । जनताको आधारभूत आवश्यकता र पूर्वाधार निर्माणका निम्ति एमाले सधै प्रतिबद्ध रहेको पौडेलको भनाई थियो ।
कार्यक्रममा युवा संघकी केन्द्रीय सदस्य सिता सुवेदीले देशकै ठुलो पार्टीको रुपमा स्थापित हुदै गएको एमालेलाई युवा शक्तिको साथ रहेको भन्दै युवा सक्रिय भएर निर्वाचन सम्पन्न गर्नुपर्ने बताईन् । कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १५ को वडा अध्यक्षका उम्मेदवार राजकुमार अर्याल, सदस्य नारायणदत्त अधिकारी, थलराज न्यौपाने, महिला सदस्य बालकुमारी चौधरी, दलित महिला सदस्य लक्ष्मी नेपालीलगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रकाश लम्साल, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष दिवाकर भण्डारी, जिल्ला सदस्य कृष्ण सिग्देल, अनिल तिवारी, अनेरास्वबियुका राष्ट्रिय पार्षद त्रिलोकबिक्रम शाहलगायतको उपस्थिती रहेको थियो । कार्यक्रम युवा संघका अध्यक्ष सुभाष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।












प्रतिक्रिया