२१ कार्तिक २०८३, शनिबार

बुढेसकालमा असीनपसीन हुँदै चुनाबी अभियानमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, २९ जेठ । पसीनाले निथ्रुक्कै भिजेका, कपाल फुलेर सेतै भएका एक वृद्धा बडा जोसका सांथ नाराबाजी गर्दै थिए । युवा र तन्नेहरीहरु भन्दा उफ्री उफ्री भोट के मा सूर्यमा, बुढेसकालको सहारा एमाले नै छ आधार भन्दै उनले निकालेको फुर्ति साच्चिकै भन्दा हेर्न लायकको थियो ।

रयालीको अग्रभाग भन्दा २ लाइनपछाडी रहेका उनको फुर्ति देखेपछि गल्लामण्डीबाट मिलनचौंक तर्फ आइरहेको रयालीको भिडमा पसेर उनको बारेमा जान्ने उत्सुकता जाग्यो । हामीले बुबा भन्दै केही कुरा गर्न खोज्दा पनि सासै नफेरी नाराबाजी गरिरहेका उनले भने ‘अहिले कुरा गर्न छाडौं एमालेकोलागी एकपटक जिन्दाबाद भनौं’ । फटाफट रयालीमा दौडीरहेका ती बृद्धासंगै हामी पनि केहीबेर हिडेपछि थाहा पायौं उनी त उमेरले ७४ कटेका पो रहेछन् । निजामति सेवाबाट निवृत सिनपा १२ का हिराबहादुर टमटाले बुढेसकालकोलागी एमाले नै सहारा भएको विगतको इतिहांसले पुष्टि गरेकोले सिनपामा एमालेलाइ जिताउन आफु लागि परेको बताए । उनले भने ‘एमालेको सरकारले जत्ति बृद्धाकोलागी गरेको छ त्यो भन्दा बेसी सिनपामा एमालेले जित्यो भने धेरै गर्ने देखेर मैले यसरी साथ दिएको हुं ।’

रयाली चर्को नाराबाजी गर्दै अगाडी बढिरहेको थियो । त्यहि मेसोमा एक मधेसी समुदायको महिला भेटिन् । उनी पनि ती बृद्धा बुबा भन्दा नाराबाजी गर्नमा कम थिइनन् । कांधमा भिरीराखेको चुनेरीले पसीना पुच्छदै उनले भनिन ‘हामी मधेसी, उत्पीडित महिलाको लागी केही गर्छ त एमालेले गर्छ अरुले सबै गफै मात्रै हो । यसैले म आफ्नो टोलका दिदी बहिनी संगै यहां आएकी छु ।’ हिड्दै कुरा गरिरहदा भैरहवा गाउकी ६१ वर्षिय कलावति यादवको दायाबायां सैगै रहेका अन्य महिलाहरु पनि उत्साहपुर्वक हामीलाइ हेरिरहेका थिए । त्यहि मेसोमा एक महिलाले एमाले जिन्दाबाद भन्दै नाराबाजी गरेपछि सबैले जोडले त्यहि शब्द दोहराए ।बजार परिक्रमा पछि मिलनचौंकमा कोणसभा भइरहेको थियो । मेयरका उमेदवार हरिप्रसाद अधिकारीले सम्बोधन गरिरहेका थिए । हामीले केही घन्टा अगाडी फूर्तिका साथ रयालीमा सहभागी टमटा र यादवलाइ नियाली रहेका थियौं । सभाको दायाबाया अधिकांश मानिसहरु बसीरहेका थिए तर अचम्म उनीहरु दुबै जना एमाले नेताहरुको भाषण रोचकतापुर्वक ठिंग उभीएर सुनिरहेका देखिन्थे ।

यो सम्वादाताले यसरी लामो समय हिडेर आउदा थकाइ लाग्यो होला यता बसौं बुबा भनेर शब्द टुंगाउन नपाउदैैं उनले ‘एकछिन है बाबु यहां महत्वपुर्ण कुरा भन्दैछन् मेयर साबले’ भन्दै बस्नै मानेनन ।

यसरी आइतबार भैरहवामा एमालेद्धारा आयोजित वृहत घरदैलो कार्यक्रममा बृद्धाहरुको पनि उत्साहवद्र्धक सहभागीताले नयापन दिएको छ । दायांपट्टि मेयर पदको उमेदवार हरिप्रसाद अधिकारीको तस्वीर र बायां पट्टि उपमेयरको उमेदवार उमा काफ्लेको ठूलो तस्वीर टांगीएको ५ मिटर भन्दा लामो वृहत घरदैलो कार्यक्रम लेखिएको ब्यानरको अग्रभागमा मेयर र उपमेयरसहित नगरका १३ वटै वार्डका अध्यक्षहरु लामबद्ध हिडिरहेको थिए ।

मूल ब्यानर भन्दा अगाडी स्वयंसेवकहरुको एक लाइन थियो सो समुहले सडकको दायाबाया रहेका मान्छेहरुलाई पाटिको घोषणापत्र बाडिरहेका देखिन्थे । मुख्य ब्यानर पछाडी सयौंको संख्यामा युवा,महिला, वृद्धाहरु थिए । सबैभन्दा पछाडी गाडी र मोटरसाइकल तथा ई रिक्साको रयाली देखिन्थयो । इ रिक्सामा एमालेका गीतहरु घन्किरहेका थिए ।