१ कार्तिक २०८३, आइतबार

दोस्रो चरणको चुनावलाई लिएर यस्तो आयो भारतीय नेताहरुको प्रतिक्रिया

12.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । भारतीय नेताहरुले नेपाल–भारत सम्बन्ध सुमधुर भएर अघि बढेको र आगामी दिनमा पनि द्धिपक्षीय सम्बन्ध थप मजबुद भएको हेर्न चाहेको बताएका छन् । उनीहरुले नेपालमा हुन गैरहेको चुनावलाई लिएर खुशी प्रकट गरेका छन् ।

नयाँ दिल्लीमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा भारतीय शीर्ष नेताहरुले चुनाव लोकतान्त्रिक व्यवस्था र उपलब्धिहरु संस्थागत गर्न अतिआवश्यक रहेको बताउँदै नेपालको चुनावप्रति खुशी व्यक्त गरेका हुन् ।

भारतीय रेलमन्त्री सुरेश प्रभुले चुनावले नै नेपाललाई समृद्धितर्फ अघि बढाउने बताए । संघीय लोकतान्त्रिक व्यवस्थालाई कार्यान्वयन गर्न पनि नेपालमा चुनाव हुन जरुरी रहेको उनले सुनाए । मन्त्री प्रभुले भारतको एकमात्रै चाहना भनेको नेपाल समृद्ध होस् भन्ने नै रहेको दाबी गरे । नेपालको विकासको लागि भारत सँधै पुल र सहयोगी बन्ने समेत मन्त्री प्रभुको भनाई थियो ।

त्यस्तै, कंग्रेस आईका विदेश विभागप्रमुख डा. करण सिंहले पनि नेपालमा हुन गैरहेको निर्वाचनप्रति खुशी व्यक्त गरे । सिंहले लोकतन्त्रलाई संस्थागत गर्नको लागिपनि आवधिक निर्वाचन आवश्यक रहेको धारणा राखे । नेपालको आन्तरिक मामिलामा भारतले कहिल्यै पनि हस्तक्षेप नगर्ने उनको भनाई थियो । उनले भने, ‘नेपालको आन्तरिक मामिलामाभारतले कहिल्यै पनि हस्तक्षेप गर्दैन् ।’

उनले नवगठित राष्ट्रिय जनता पार्टी नेपाललाई पनि चुनावमा भाग लिन आग्रह गरे । सिंहले भने, ‘महन्थ ठाकुरजी पनि चुनावमा जानुपर्छ, उहाँ चुनावमा जाँदा धेरै राम्रो हुन्छ ।’

उता जनतादल युनाईटेडका नेता शरद यादवले पनि नेपालमा स्थायित्व, शान्ति र समृद्धि भारतको चाहना रहेको बताए । उनको भनाई थियो, ‘नेपाल सँधै शान्त, समृद्धि र स्थिर रहोस् भन्ने हाम्रो चाहना छ ।’ उनले नेपालले विभिन्न आन्दोलनबाट प्राप्त गरेका उपलब्धिहरुलाई संस्थागत गर्न पनि चुनाव अपरिहार्य रहेको धारणा राखे ।

त्यस्तै, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सिताराम यचुरीले पनि नेपालमा हुन गैरहेको निर्वाचनलाई लिएर अत्यन्तै सकारात्मक कदमको संज्ञा दिए । यचुरीले अघि भने, ‘संविधान कार्यान्वयनको लागिपनि चुनाव अनिवार्य आवश्यकता छ, त्यसैले हामी नेपालमा हुन गैरहेको स्थानीयतहको निर्वाचनपनि सफल होस् र बाँकी तहको निर्वाचन पनि समयमै सम्पन्न होस् भन्ने पक्षमा छौं ।’

त्यस्तै कांग्रेस आई राष्ट्रवादीका महासचिव डि.पी. त्रिपाठीले पनि नेपालमा हुन गैरहेको चुनावको बारेमा खुशी व्यक्त गर्दै चुनाव समयमै सम्पन्न होस् भन्ने शुभकामना दिए । त्रिपाठीले नेपालमा हालै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएकोमा खुशी व्यक्त गरे । उनले भने, ‘देउवाजी प्रधानमन्त्री बन्नुभएको छ, म निकै खुशी छु ।’ उनले प्रधानमन्त्री देउवा आफ्ना परम मित्र रहेको समेत जनाए ।