भैरहवा, २८ जेठ । नेकपा एमालेका नेता राजेन्द्र प्रसाद पन्थीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको समयसापेक्ष विकास नहुनुमा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी कारक भएको आरोप लगाएका छन् ।
सिद्धार्थनगर वडा नम्बर ८ को वडाध्यक्षका एमाले उम्मेद्वार पन्थीले सिद्धार्थनगर नगरपालिकालाई उपमहानगर हुनुबाट रोक्ने, नगरमा एडिबीको विरोध गर्ने, नगरलाई यथास्तिथीमा राखेर सामन्तवादी सोंचका साथ शासन गर्न खोज्ने, युवा पुस्तालाई सधैं आफ्नो पिछलग्गु बनाएर हिडाउन खोज्ने कांग्रेस, राप्रपाको पुरानो शैली अन्यत्र फेरिएता पनि भैरहवामा जस्ताको तस्तै भएको भन्दै आक्रोश पोखे ।
एमाले जिल्ला कमिटी रुपन्देहीका पूर्वउपसचिव समेत रहेका पन्थीले मुलुकमा ७४४ स्थानीय तहको पुनर्संरचना हुँदा सिद्धार्थनगर पन्चायतकालमा जस्तो थियो त्यहि भूगोलमा रहनु विडम्बना पुर्ण भएको बताए । ०५४ सालको निर्वाचनमा वडा नम्बर ८ बाट निर्वाचित पूर्व अध्यक्ष समेत रहेका पन्थीले सिद्धार्थनगरलाई चिल्हीया, हाटी बनगाइ, पडसरी, हाटिफर्साटिकर, बसन्तपुर, बगाह र तिलोत्तमा नगरपालिका गाभेर उपमहानगर पालिका बनाउने प्रस्ताव एमालेले बारम्बार तत्कालिन जिल्ला विकासद्धारा गठित स्थानिय तह पुनर्संरचना आयोगको प्राविधिक समितिमा लगेतापनि कांग्रेस र राप्रपाले ठाडै अस्वीकार गर्दा सो कार्य रोकिएको खुलासा गरे ।
सिनपा उपमहानगर नभए तिलोत्तमा बाहेकका अन्य गाविसलाई जोडेर प्राकृतिक सम्पदा सम्पन्न नगर बनाउ भन्दा पनि कांग्रेसका सभापति अब्दुल रज्जाक र राप्रापाका सभापति सागर राणाले कुनैपनि हालतमा सिद्धार्थनगरको सिमाना हेरफेर नहुने अडान लिएको उनले जानकारी गराए ।
उनी भन्छन्– ‘अहिले ती गाविसहरु पनि गाउपालिका भएका छन् । सिनपासंग अहिने न जंगल छ नत खोला नै । जंगल जल नभएपछि सिनपालाई भविष्यमा धेरै समस्या पर्ने देखिएको छ । थोरै जनसंख्या र भुगोल पनि सानो भएकोले नेपाल सरकारले भर्खरै प्रस्तुत गरेको बजेटमा सिनपाको बजेट जिल्लाको भर्खरै गठन भएका गाउपालिका भन्दा कम भएको छ ।’
भर्खरै गठन भएको गैडहवा गाउपालिकाको बजेट ३४ करोड, ६६ लाख ४५ हजार रहेको छ भने सिनपाको ३४ करोड ४३ लाख १९ हजार मात्र छ । जबकी देवदहको ३८ करोड ३६ लाख, ७३ हजार र लुम्बिनी सास्कृति नपाको ४५ करोड ३३ लाख ७१ ह्जार रहेको छ ।
यसरी सिनपाको बजेट घट्नुको मुख्य दोषी पनि नगरको सिमांकन हेरफेर गर्नै हुन्न भन्नेहरु रहेको प्रा.डा कपिलदेव लामिछानेको तर्क छ । प्रा.डा. लामिछाने भन्छन्– चुनाबी गणितको हिसाब किताब गरेर केही दलले सिनपाको सिमांकन बढाउने विषयमा गरेको विरोध पहिले पनि गलत हो र अहिले पनि गलत हो । यहि सिमांकन कायम भएमा भोली बन्ने प्रान्त सरकार, केन्द्रिय सरकारबाट पनि बजेट कम आउछं । त्यसैले सबै दलहरु मिलेर छिमेकी गाउपालिकालाई जोडेर सिमांकन बढाउनुपर्दछ ।
यता सिद्धार्थनगरका पुर्व कार्यकारी अधिकृत विष्णुदत्त गौतमले पनि बजेट घोषणा हुदा वित्तिकै सिद्धार्थनगरको बजेट घट्नुको दोषीहरु को हुन् भनी सामाजिक सन्जालमा पोस्ट गरेका थिए ।














प्रतिक्रिया