१५ कार्तिक २०८३, आइतबार

फेरि विवादमा फस्यो निर्वाचन आयोग, महिलालाई अपमान गरियो

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २८ जेठ । मतदातालाई चुनाव र मतदानबारे सुसूचित गराउन निर्वाचन आयोगल छापेको मैथिली भाषाको जानकारी पुस्तिकामा महिलालाई ‘जनानी’ भनेर अपमानित गरिएको छ । आयोगद्वारा मैथिली भाषामा प्रकाशित निर्वाचनसम्बन्धी प्रश्न र त्यसको उत्तरपुस्तिकामा महिलाका लागि ‘जनानी’ शब्द प्रयोग गरिएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

मिथिला नाट्यकला परिषद्का पूर्वअध्यक्ष सुनील मि श्रले जनानी शब्द मधेसमा महिलालाई होच्याएर बोल्न प्रयोग हुने हुँदा यसले महिलाको अपमान गर्ने बताउनुभयो । मिश्रले भन्नुभयो, ‘यो शब्दको प्रयोग महिलालाई हेला गरेर बोलाउँदा गरिन्छ, यसकारण जानकारी पुस्तिकामा यो राख्दा अपमान गरिएको हो ।’मैथिली भाषाका विद्वान् तथा प्राडा राजेन्द्र विमल जनानी शब्द आदरार्थी नभएको र यसले महिलाको सम्मानको साटो हेला गर्ने आशयले प्रयोग गरिएको बुझिने बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘यो शब्द अहिले चलनचल्तीमा पनि छैन । नेपालीमा स्वास्नीमान्छे वा आइमाई भन्नु र मैथिलीमा जनानी वा जनाना भन्नु एउटै हो ।’मैथिली भाषामा पनि महिलालाई सामान्यतया महिला नै भनिने र विशेष शब्द प्रयोग गर्ने नै हो भने ‘स्त्रगण’ राख्नुपर्ने हो । तर, आयोगको पुस्तिकामा लेखिएको जनानी शब्दले मधेसी महिलालाई अपमानित गरेको र यसका लागि आयोगले माफी माग्नुपर्ने महिला अधिकारकर्मीको भनाइ छ।

आयोगद्वारा शनिबार आयोजित सरोकारवालासँगको निर्वाचन अन्तरसंवादमा सहभागी सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिले जानकारी पुस्तिकामा उल्लिखित शब्दले मैथिली भाषा बिगारेको र अपमान गरेको भन्दै विरोध जनाए ।

महिला अधिकारकर्मी पुनम झाले आयोगबाट प्रकाशित पुस्तिकामा यस्तो भाषाको प्रयोग भयो भने अन्य सरकारी निकायबाट राम्रो व्यवहारको अपेक्षा गर्नु बेकार रहेको औंल्याउनुभयो ।उहाँले भन्नुभयो, ‘यसै पनि मधेसी महिलाले अन्य समुदायका तुलनामा हिंसा र अपमान बढी खेप्नुपरेको छ । त्यसमाथि आयोगले समेत सम्मानजनक भाषा प्रयोग नगर्दा पुस्तिकाका लेखक पितृसत्तात्मक सोचबाट ग्रसित रहेको प्रस्ट गरेको छ ।’

निर्वाचन आयोग धनुषाकी प्रमुख पुष्पा झा आफूले पनि यो पुस्तिकामा जनानी शब्द पाउँदा नराम्रो लागेको बताउनुभयो । यस्तो शब्दको प्रयोगबारे निर्वाचन आयोगलाई जानकारी गराइने र वितरण भइसकेकाबाहेक अरू पुस्तिका अब वितरण नगरिनेसमेत झाले उल्लेख गर्नुभयो ।