९ मंसिर २०८३, बुधबार

एमाले भीमदत्त नगरको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक, यसरी फेरिनेछ नगरको मुहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, २५ जेठ । नेकपा (एमाले) भीमदत्त नगर संगठन कमिटीले असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि आधुनिक भीमदत्त नगर बनाउने लक्ष्यका साथ महत्वाकाँक्षी चुनावी प्रतिबद्धता घोषणा गरेको छ ।

एमालेले बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी राष्ट्रिय स्वाभिमान, कल्याणकारी राज्य, सामाजिक सुरक्षा र समृद्धि गाउँ सहरको विकास जनताको सरोकार, सडक खानेपानी, शिक्षा, सञ्चार, स्वास्थ्य, कृषि, वन तथा पर्यटन सहितको आधुनिक भीमदत्त नगर भन्ने नारा सहित प्रतिबद्धता घोषणा गरेको छ । ८ पृष्ठ लामो प्रतिबद्धतालाई १२ भागमा विभाजन गरिएको छ । एमालेले सुशासन तथा जनमुखी प्रशासनका लागि वैज्ञानिक मूल्याङ्कनका आधारमा कर निर्धारण, हेलो नगरपालिका रेडियो कार्यक्रम सञ्चालनदेखि अव्यवस्थित बसोवासीलाई पूर्जा उपलब्ध गराउने प्रतिद्धता गरेको छ । नगरको पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि निजी सार्वजनिक क्षेत्रसित सहकारी गरिने प्रतिवद्धतामा समावेश गरिएको छ ।

भीमदत्त नगरपालिकालाई आधुनिक सहर बनाउने लक्ष्यका साथ भौतिक पूर्वाधार सम्पन्न बनाउने प्रतिबद्धता गरिएको छ । नगर क्षेत्रमा चक्र निर्माण, सडक कालोपत्रे, सडक फराकिलो पार्नेदेखि सडक सौर्य वत्तीको व्यवस्था गरी उज्यालो सहर बनाउने, पुस्तकालय सहितको सामुदायिक तथा योग भवन निर्माण, विद्यतु लाइन विस्तार, पार्किङ्ग स्थल निर्माण, आधुनिक वधशाला निर्माण, सबै वडामा बालगृह, ज्येष्ठ नागरिक आवाशगृह, मनोरञ्जन स्थल निर्माण लगायतका कार्य प्रतिद्धतामा समावेश गरिएका छन् ।

कृषि, सिँचाई तथा पशुपालन अन्र्तगत सबै वार्डमा किसान पाठशाला सञ्चालन, भीमदत्त पन्त किसान पुरस्कार स्थापना, महाकाली सिँचाई आयोजनाको नहर नपुगेको वार्डमा वैकल्पिक सिँचाईको व्यवस्था, छाडा पशु चौपाया नियन्त्रण, गौशाला निर्माण र सहकारी कृषि उत्पादनमा जोड दिने प्रतिबद्धता गरिएको छ ।

चुरे क्षेत्रका सामुदायिक वन व्यवस्थापन गरी स्थानीयलाई आधुनिक र वैकल्पिक उर्जाको व्यवस्था गर्ने, जडीबुटी उद्योग सञ्चालन, सार्वजनिक स्थलमा सफाई र सहिद पार्क निर्माण लगायतका कार्य प्रतिवद्धतामा समावेश गरिएका छन् ।

संस्कृति र पर्यटन विकासका लागि वर्षौदेखि बन्द मझगाउँ विमानस्थलको धावन मार्ग कालोपत्रे गरी सञ्चालनमा ल्याउने, नगर क्षेत्रका विभिन्न स्थानमा भ्युटावर बनाउने, बहुसाँस्कृतिक संग्राहलय स्थापना, नगर कला परिषद् गठन लगागतयका कार्य गरिने प्रतिद्धतामा उल्लेख गरिएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, सामुदायिक वन र चुरेमा पदयात्रा तथा महाकाली नदीमा जल विहारको योजना अघि सारिएको छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको विकास र विस्तारका साथै प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिने एमाले भीमदत्तले प्रतिबद्धता गरेको छ । नगरका सबै सामुदायिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधिलाई अनिवार्य गर्ने, इ लाइब्रेरी स्थापना लगायतका कार्य गरी गुणस्तरीय शिक्षामा जोड दिने प्रतिबद्धता गरिएको छ । महाकाली अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्ने, स्वास्थ्य बीमा सहित गम्भीर प्रकृतिका रोगहरुको निःशुल्क उपचार, सबै वडामा सुविधा सम्पन्न प्रसूती केन्द्र, नव जात शिशुलाई पोषण र कपडाका लागि ५ हजार भत्ता, नगर क्षेत्रमा हेल्थ क्लब र जोगिङ्ग ट्रयाक बनाउने प्रतिबद्धता गरिएको छ । फोहरमैला व्यवस्थापन गरी नमूना सहर बनाउने लक्ष्य राखिएको छ । फोहरको वैज्ञानिक व्यवस्थापन र फोहरलाई मोहर बनाउने योजना प्रतिद्धबतामा समावेश गरिएको छ ।

भीमत्तदत्तका सबै वडामा टेलिफोन विस्तार गरी वडाका केन्द्रमा निःशुल्क वाई सेवा जडान गरिने प्रतिद्धता गरिएको छ । निजी साझेदारीमा सामुदायिक टेलिभिजन सञ्चालनमा ल्याउने एमाले भीमदत्तले प्रतिबद्धता गरेको छ । सामाजिक सुरक्षालाई मासिक पाँच हजार पुगाउने पार्टीको घोषणालाई कार्यान्वयनमा ल्याउने, भारतबाट फर्किएका कामदारको सीपलाई प्रयोगमा ल्याउने, सुनाहा लगायतका अल्प संख्यक समुदायलाई सूचीकृत गरी परिचय पत्र दिने, कुरीति विरुद्ध सामाजिक सञ्चालन अभियान सञ्चालन गर्ने लगायतका प्रतिबद्धता गरिएका छन् ।

एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य पूर्व उप सभामुख भोजराज जोशीको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य शेर बहादुर चन्दले प्रतिबद्धता पत्र पढेर सुनाएका थिए । कार्यक्रममा एमालेका भीमदत्तका मेयरका उम्मेदवार सुरेन्द्र विष्टले सुशासन, भ्रष्टाचारमुक्त र समृद्ध नगरपालिका बनाउने लक्ष्य बोकेर चुनावी प्रतिवद्धता गरिएको बताए । ‘खल्लामा सुकुम्बासी समस्या छ, अन्यमा बाटोको समस्या छ’ उनले भने,‘यी सबै विषय समेटिएको प्रतिबद्धता बोकेर चुनावमा गएका छौ ।’ एमाले एक भएर चुनावी मैदानमा होमिएकाले सुखल नतिजा आउने उम्मेदवार विष्टले बताए ।

एमाले भीमदत्त नगर संगठन कमिटीका संयोजक प्रताप तिरुवाको सभापतित्वमा गरिएको कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य उर्वादत्त पन्त, केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी प्रसाद खरेल, उप मेयरका उम्मेदवार माया पन्त लगायतका नेताहरु सहभागी थिए ।