गुल्मी, २४ जेठ । स्थानीय निर्वाचानमा गुल्मीमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ । गुल्मीमा रहेका २ नगरपालिकासहित १० गाउँपालिकामध्ये कांग्रेस र माओवादी केन्द्रले रुरु गाउँपालिकामा चुनावी तालमेल गरेका छन् ।
तालमेल अनुसार माओवादी केन्द्रलाई गाउँपालिका प्रमुखसहित २ वडा अध्यक्ष र उपप्रमुखसहित ४ वडा अध्यक्ष पाउने गरी तालमेल गरिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य बुद्धि जिसीले जानकारी दिए ।
तालमेल अनुसार गाउँपालिका प्रमुखमा माओवादी केन्द्रबाट यदु ज्ञवाली उम्मेदवार बनेका छन् । कांग्रेसबाट उपप्रमुखमा देबिन्द्र मल्ल उम्मेदवार बनेका छन् ।
माओवादी केन्द्रबाट उम्मेदवार बनेका ज्ञवाली अखिल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रीय सदस्य एबम् युवा उम्मेदवार हुन् । तालमेल अनुसार गाउँपालिकामा रहेका ६ वटा वडामध्ये बम्घा र बलेटक्सार वडा माओवादी केन्द्रबाट अध्यक्ष पाउने छ । सदस्यमा बहुमत कांग्रेसले पाउँने सहमति भएको केन्द्रीय सदस्य जिसीले जानकारी दिए ।
अन्य वडामध्ये ४ वटा वडा थानपती, रुरु, रिमुवा र ग्वादीमा कांग्रेसबाट अध्यक्ष उम्मेदवार उठाउने सहमति गरेका छन् । सहमतिअनुसार कांग्रेस अध्यक्ष उम्मेदवार भएको स्थानमा माओवादी केन्द्रबाट सदस्य उम्मेदवार उठाउने समहति भएको छ । उक्त गाउँपालिकामा एमालेको बाहुल्यता रहेको छ ।
रुरुमा एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवालीको घर पर्छ । उक्त गाउँपालिकामा पहिलेदेखि नै एमालेको राम्रो पकड मानिन्छ ।
एमालेको पकड तोड्ने भन्दै कांग्रेस र माओवादी केन्द्र मिलेर चुनावी मैदानमा उत्रिने भएका छन् भने एमाले एक्लै चुनावी मैदानमा उत्रिने भएको छ । उक्त गाउँपालिकामा एमालले निलकण्ठ गौतमलाई प्रमुख र उपप्रमुख लक्ष्मीदेवी पन्थलाई उम्मेदवार बनाएको छ ।













प्रतिक्रिया