कञ्चनपुर, ३० असोज । सामान्य रोग लाग्दापनि लाखौँ खर्च गरेर नेताहरु उपचारका लागि विदेशका महंगा अस्पतालमा गएका समाचार दिनहुँ आइरहेका छन् ।
गरिबका झुपडीमा पुगेर हात जोडेर भोट माग्ने ती नेताहरुको ध्यान भने चुनाव जितेपछि ती झुपडीमा पुग्न सकेको छैन । हो, त्यही पीडा भोग्न बाध्य भएका छन्, कञ्चनपुरको वनहरा नदी छेउ बस्दै आएका भूमिहीन परिवार ।
लगातार तीन दिनसम्म परेको वर्षाका कारण ती भूमिहीन परिवारको बिजोग भएको छ ।
झुपडीमा राखेको त्रिपाल हावाले उडाएपछि भूमिहीन परिवारले रूखमुनि ओत लागेर बस्नु परेको छ । झुपडीभित्र रहेको सबै अन्न र ओढ्ने बिछ्याउने कपडा वर्षाको पानीले भिजाएपछि रूखमुनि ओत लागेर जीउ जोगाउनु परेको पार्वती टमटाले बताउनुभयो ।
दुई रात पानीमा भिज्दै कठ्याङ्ग्रिएर बस्नुप¥यो उहाँले भन्नुभयो–‘सबै जना बिरामी परेका छौँ ।’ बूढापाका र बालबालिका रुघाखोकी, ज्वरोलगायतले ग्रसित भएका छन् ।
सात जनाको कृष्णपुर र पाँचजनाको झलारी स्वास्थ्य चौकीमा उपचार भइरहेको र अन्य बिरामी झोपडीमै अलपत्र अवस्थामा रहेको मानध्वज लुहारले बताउनुभयो । मजदुरी गरेर ल्याएको सबै अन्न खान योग्य नभएपछि नजिकैका गाउँमा मागेर खान यहाँका बासिन्दा बाध्य छन् ।
पुरुष सबै मजदुरीका लागि भारततर्फ लागेकाले बस्तीमा बूढापाका र बालबालिका मात्रै बस्दै आएका छन् । झुपडी मर्मत गर्न नसकेपछि ओछ्याउने कपडा झोपडीको छानामा राख्नु परेको लाली साउँदले बताउनुभयो ।
‘झुपडीभरि पानी भरिएपछि ओत लाग्नका लागि कोही रूखमुनि र कोही नदीको पुलमुनि पुग्यौँ’–उहाँले भन्नुभयो । आगो बाल्ने ठाउँसमेत नभएकाले सबैको बिजोग भएको पीडितको भनाइ छ । बस्तीमा ६० भन्दा बढी परिवार बस्दै आएका छन् ।















प्रतिक्रिया