पर्सा, २३ जेठ । पर्साको बेल्वा गाउँपालिका–६ सोलखपुरकी २२ वर्षीया देवमाया भट्टको हत्या भएको उनका आफन्तले दाबी गरेका छन् । आफन्तहरूले श्रीमान् सन्तोष पण्डित र परिवारले मिलेर देवमायाको हत्या गरेको दाबी गरेका हुन् ।
जेठ १८ गते घाँटीमा पासो लगाएर झुन्डिएको अवस्थामा देवमायाको शव भेटिएको थियो । आइतबार जिल्ला प्रहरी कार्यालयमा भेटिएका मृतक देवमायाका बुबा पर्सागढी गाउँपालिकाका ऋषिराम भट्टले छोरीले आत्महत्या गरेको नभई हत्या भएको दाबी गरे । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।
‘छोरीलाई पहिलेदेखि नै ज्वाइँ सन्तोषले यातना दिने गरेका थिए, हामीले घटनाको प्रकृति हेर्दा र गाउँका मानिससँग बुझ्दा पनि हत्या भएको भन्ने धेरै आधार फेला पारेका छौँ,’ भट्टले भने । घरपरिवारले हेला, घृणा र तिरस्कार गर्ने गरेका कारण विक्षिप्त भएर देवमाया समय–समयमा माइती आउने गरेको भट्टले बताए ।
छोरी पाएपछि यातना
सन्तोष र देवमायाको ०७२ भदौमा प्रेमविवाह भएको थियो । माइतीघर बगवानाको कोइलाभारबाट सन्तोषले देवमायालाई भगाएर ल्याएका थिए । उनीहरूको सात महिनाकी छोरी पनि छिन् । सन्तोष र देवमायाको विवाहलाई सन्तोषको परिवारले राम्रो मानेको थिएन ।
पहिलो सन्तान जन्मेपछि पतिपत्नीबीच मनमुटाव सुरु भएको गाउँलेहरूले बताएका छन् । बितेको शनिबारसम्म देवमाया माइतमै रहेको र पतिले धम्की दिएर बोलाएपछि आएको आफन्तहरूको भनाइ छ । पति सन्तोषले कुटपिट गरेपछि देवमाया रिसाएर माइतीको शरणमा पुगेकी थिइन् । देवमायाले घरमा श्रीमान्ले यातना दिने गरेको कुरा बताउने गरेको स्थानीय शिक्षिका सुनीता तिवारीले बताइन् ।
‘घरमा दिनहुँ यातना दिन्छन् भनेर मसँग गुनासो गर्थिन् । घटनास्थलमा हामीले पनि गएर हे¥याँै । टाउकोमा र हातमा चोट लागेको छ । ओछ्यानमा रगत थियो,’ उनले भनिन्, ‘देवमायाको परिवारले हत्या गरेकै हो भन्ने पुष्टि हुने आधार धेरै देखिन्छ ।’ घटना भएको दिन पण्डितको घरमा बिहान २ बजेदेखि नै होहल्ला भएको छिमेकीले बताएका छन् ।
प्रहरीले मुद्दा दर्ता गर्न मानेन
देवमायाको माइती पक्षले उनका श्रीमानसहितका परिवारलाई हत्याको अभियोगमा मुद्दा दर्ता गराउन जाँदा जिल्ला प्रहरी कार्यालय पर्साले दर्ता नगरी फिर्ता पठाइदिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा कर्तव्य गरी ज्यान मारेको अभियोगमा मुद्दा दर्ता गर्न जाँदा मुद्दा दर्ता नगरिदिएको बुबा ऋषिराम भट्टले बताए ।
‘छोरीको अवस्था हेर्दा टाउकोमा हानेर लडाएर, घाँटी कसेर मारेर झुन्ड्याएको जस्तो देखिन्छ,’ उनले भने, ‘प्रहरी भने मुद्दा दर्ता गर्न मिल्दैन भन्छ, अब हामीले कसरी न्याय पाउने ?’ घरमा दिनहुँ यातना दिने गरेको कुरा छोरीले गर्ने गरेकाले पनि परिवारले नै उनको हत्या गरेको हुन सक्ने अनुमान आफूहरूले गरेको उनले बताए ।
पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले पनि देवमायाको घटनामा हत्या मुद्दा दर्ता नगरेको स्वीकार गरे । ‘उहाँहरू मकहाँ समस्या लिएर आउनुभएको थियो । मैले तत्काल हत्या मुद्दा दर्ता गर्न मिल्दैन भनेर पठाइदिएको छु,’ उनले भने, ‘अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टमा झुन्डिएर आत्महत्या गरेको भनेर आएको छ । टाउकाको चोट सामान्य देखिएको छ । भित्री चोट छैन भनेर रिपोर्टमा उल्लेख छ ।’ उनले हचुवाका भरमा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गर्नुभन्दा आवश्यक अनुसन्धान गरेर बलियो प्रमाण भेटेपछि दर्ता गर्नु उचित हुने बताए ।
मुद्दा दर्ता गर्न अधिकारकर्मीको आग्रह
अधिवक्ता वीरेन्द्र यादवले पीडित पक्षले हत्या अभियोगमा मुद्दा दर्ता गर्न खोज्दा प्रहरीले दर्ता नै नगर्नु गलत भएको बताए । ‘मुद्दा दर्ता गर्न खोज्दा प्रहरीले दर्ता गर्नुपर्ने हो । तर, यहाँ दर्ता नगर्ने चलन छ,’ उनले भने, ‘ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गर्दा अनावश्यक झन्झट हुने र पछि ऊ निर्दोष ठहर हुँदा प्रहरीलाई अप्ठ्यारो हुने भएकाले पनि दर्ता नगर्ने चलन देखिन्छ ।’












प्रतिक्रिया