
काठमाडौं, २२ जेठ । कतारलाई एक्लो पार्ने साउदी अरब नेतृत्वको चार मुस्लिम मुलुकहरुको निर्णयको असर नेपालमा पनि देखिन थालेको छ ।
कतारसँगको सम्बन्ध बिच्छेद गर्ने साउदी अरेबिया, यूएई लगायतका मुलुकहरुको निर्णयसँगै इतिहाद एयरलाइन्सले काठमाडौंबाट दोहा जाने सबै उडानहरु बन्द गरेको छ। इतिहादले सोमबार विज्ञप्ति जारी गरी सोमबार साँझबाट अर्को सूचना जारी नभएसम्म उडान बन्द गर्ने जनाएको छ । टिकट काटिसकेका यात्रुहरुलाई भने वैकल्पिक व्यवस्था गर्ने वा टिकट फिर्ता दिने एयरलाइन्सबाट जारी विज्ञप्तिमा जनाइएको छ । इतिहादले कतारमा दैनिक दुई वटा उडान गर्दै आएको थियो ।
कतारले आतंकवादलाई प्रायोजन गरेको भन्दै साउदी अरब, यूएई, इजिष्ट र बहराइनले कतारसँगको कुटनीतिक सम्बन्ध बिच्छेद गर्ने निर्णय गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको केही दिनअघिको साउदी भ्रमणपछि यो निर्णय आएको हो ।
चार मुश्लिम मुलुकहरुले कतारसँगको सबै स्थल, हवाई तथा सामुद्रिक सीमाना बन्द गरेको घोषणा गरेका छन् । यसैगरी, कतारी नागरिकलाई देश छोड्न र कुटनीतिज्ञहरुलाई फिर्ता जान भनिएको छ ।















प्रतिक्रिया