काठमाडौं, २२ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने प्रक्रिया सुरु भएसँगै सत्ता साझेदार दलहरूले सम्हाल्ने मन्त्रालयबारे छलफल सुरु भएको छ । पहलो चरणको छलफल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भइरहेको छ ।
महन्वपूर्ण मन्त्रालयमध्ये अर्थ र परराष्ट्र मन्त्रालय नेपाली कांग्रेस तथा गृह र उर्जा मन्त्रालय माओवादीले सम्हाल्ने प्रारम्भीक सहमति भएको बुझिएको छ । तरुण साप्ताहिकले समाचार छापेको छ ।
मन्त्रालयको सहमति मिलाउन कांग्रेसका नेता विमलेन्द्र निधि र रमेश लेखक तथा माओवादीबाट कृष्णबहादुर महरा, वर्षमान पुन र जर्नादन शर्माबीच छलफल जारी रहेको स्रोतले जनाएको छ ।
असार १४ को निर्वाचन अगाडि ११ सदस्यीय मन्त्रिपरिषद बनाउने तयारीमा रहेका देउवाले पहिलो चरणमा पार्टीबाट पाँच जना नेतालाई मात्रै जिम्मेवारी दिने सम्भावना छ ।
अघिल्लो पटक आफ्नो नेतृत्वको सरकारमा सहभागी गराउने आश्वासन धेरै सांसदलाई दिएका कारण सभापति देउवा निकै दबाबमा परेका छन् । पार्टीको आन्तरिक काममा महत्वपूण सहयोग गरिरहका नेता ज्ञानेन्द्र कार्कीले पहिलो चरणमै जिम्मेवारी पाउने अनुमान गरिएको छ । त्यस्तै महेश आचार्यको पनि सम्भावना छ ।
विगतमा जस्तै पार्टीको आकारअनुसार मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ । स्रोतका अनुसार कांग्रेसका तर्फबाट उपप्रधानमन्त्रीको जिम्मेवारी पूर्वकार्यबाहक सभापति गोपालमान श्रेष्ठ पाउने सम्भावना देखिएको छ ।
वाणिज्यशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका गोपालमान यसअघि तीन पटक मन्त्री बनिसकेका छन् ।
कुल जनसंख्याको १० प्रतिशत हिस्सा दलित समुदायले ओगटेको छ । जसका कारण मीन विश्वकर्माको पनि पल्ला निकै भारी देखिएको छ । भीमबहादुर तामाङको निधनपछि देखएको रिक्ततालाई पूरा गर्दै अघि बढेका बहादुरसिंह तामाङ पनि मन्त्री बन्ने सूचीमा छन् । मधेसी तथा मुस्लिम समुदायको प्रतिनिधित्व गर्ने नेता फरमुल्लाह मन्सुरको नाम पनि निकै चर्चामा छ ।
महिला तर्फबाट डिना उपाध्याय, अम्बिका बस्नेत र किरण यादवको नाम चर्चामा छ । हरि नेपाल, शेषनाथ अधिकारी, ध्यानगोविन्द रञ्जितको नाम पनि चर्चामा छ । बीरबहादुर बलायर, बहादुर सिंह थापा,चन्द्र भण्डारी, ध्रुव वाग्ले, भीष्मराज आङदम्बे, डिकबहादुर लिम्बु, मदन अमात्य देखि मोहन बस्नेतको नाम मन्त्रीका लागि चर्चामा छ ।












प्रतिक्रिया