१ कार्तिक २०८३, आइतबार

काँग्रेसका दिग्गज नेताहरुले किन लिए देउवाको सातो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ जेठ । पछिल्लो समयमा राष्ट्रिय राजनीतिमा पार्टीले खेलेको भूमिकाका कारण पहिलो चरणको चुनावमा काँग्रेसले पराजय भोग्नु परेको भन्दै दिग्गज नेताहरुले चरम असन्तुष्टि पोखेका छन् ।

बिपी विचार राष्ट्रिय समाजको प्रतिनिधिमण्डलले शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटी असन्तुष्टि पोखेको हो । घुमाउरो रुपमा उनीहरुले देउवाले लिएको गलत नीतिका कारण पार्टीले दोस्रोस्थानमा चित्त बुझाउनुपरेको भन्दै सचेत गराएका थिए ।

समाजका सभापति सांसद कुलबहादुर गुरुङको नेतृत्वमा शुक्रबार बिहान गएको प्रतिनिधिमण्डलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा काँग्रेस सहभागी भएको सरकारले गरेका कतिपय निर्णयले पार्टीको लोकप्रियतामा पारेको नकारात्मक प्रभाव पारेको भन्दै सभापति देउवाको ध्यानाकर्षण गराएको हो । यसैगरी, पार्टीले प्रतिबद्ध एवम् लोकप्रिय व्यक्तिलाई टिकट नदिँदा स्थानीय तहको निर्वाचनमा आशातीत सफलता प्राप्त गर्न नसकेको समाजका महासचिव विनयध्वज चन्दले बताए ।

“दोस्रो चरणको स्थानीय तह, प्रदेश र संसद्को निर्वाचनमा उम्मेदवार तय गर्दा पहिलो चरणको निर्वाचनमा भएको कमजोरीलाई नदोहो¥याई निश्चित विधि र प्रक्रिया निर्धारण गरेर लोकप्रिय उम्मेदवार तय गर्न माग गरेका छौँ”– चन्दले भने ।

पछिल्लो समयमा राष्ट्रिय राजनीतिमा पार्टीले खेलेको भूमिकाका कारण जनतामा पर्न गएको निराशालाई चिर्दै सरकारको नेतृत्व गर्दा स्पष्ट र लोकप्रिय राजनीतिक अडानका साथ प्रस्तुत हुनुपर्ने दिग्गज नेताहरुको माग छ ।

पार्टीलाई थप वैचारिक स्पष्टता र नवीन कार्यक्रमका साथ परिचालित गर्नुपर्नेलगायतका विषयमा प्रतिनिधिमण्डलले सुझाव प्रस्तुत गरेको महासचिव चन्दले बताए ।

प्रतिनिधिमण्डलको सुझावको प्रत्युत्तरमा सभापति देउवाले पहिलो चरणको निर्वाचनमा देखिएका कमी कमजोरीलाई हटाई पार्टीलाई थप गतिशील बनाउने र काँग्रेसको नेतृत्वमा बन्ने सरकारले विगतका कमजोरीलाई सच्याउँदै अघि बढ्ने वचनबद्धता प्रकट गरेका थिए ।

प्रतिनिधिमण्डलमा समाजका सहअध्यक्ष गोविन्दराज जोशी, महासचिव चन्द, सहसचिव रामबहादुर गुरुङ, संस्थापक सदस्यद्वय लक्ष्मणप्रसाद घिमिरे र लोकेश ढकाल सहभागी थिए ।