काठमाडौं, १९ जठ । राष्ट्रिय जनता पार्टी नेपालभित्र चुनाव विरोधी र चुनावमा सहभागी हुने नेताहरूबीच तीब्र मतभेद सुरु भएको छ । राजपामा रहेका छ वटा दलमध्ये दुई दल निर्वाचन विरोधीका रुपमा पहिचान बनाएका छन् ।
स्रोतका अनुसार यसरी निर्वाचनको विरोध गर्नेमा तत्कालीन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव हुन् । महतो र यादव निर्वाचनको विरोधीका रुपमा राजपाभित्र हार्डलाइनर नेताको पहिचान बनाएका छन् ।
‘राजेन्द्र महतो र राजकिशोर यादवजीहरू निर्वाचनको विरोध गर्दै आउनु भएको छ । उहाँहरूले चुनावमा भाग लिनु हुँदैन भन्ने गर्नुभएको छ’, राजपा अध्यक्षमण्डका एक सदस्यले भने, ‘भित्रभित्रै राजेन्द्र र राजकिशोरका नेता तथा कार्यकर्ताहरू नै स्थानीय तहको निर्वाचनमा भाग लिन उत्साहित भएर बस्नु भएको छ ।’
स्रोत भन्छ, ‘राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीका थुप्रै नेताहरूले निर्वाचनमा भाग लिने भनेर पार्टी परित्याग गरिसकेका छन् । उनीहरू विभिन्न दलमा प्रवेश गरिरहेका छन् ।’
उनीहरूले चुनावको किन विरोध गरिरहेका छन् ? राजपा नेपालका संयोजक महन्थ ठाकुर नै अनभिज्ञ छन् ।
महन्थ ठाकुर, शरतसिंह भण्डारी, महेन्द्र राय यादव र अनिल झा भने अहिले प्राप्त अधिकारलाई उपलब्धिका रुपमा लिएर थप अधिकारका लागि स्थानीय तहको निर्वाचन उपयोग गर्ने रणनीतिमा छन् ।
उता, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई र पहाडी जिल्लाहरूमा धमाधम संगठन गर्दै आएका छन् । उनले निर्वाचनका तयारी तीब्र रुपमा गरिरहेका छन् ।















प्रतिक्रिया