काठमाडौं, २८ असोज । सभासद् चयनमा आर्थिक लेनदेन हुने गरेको विषय यसअघिदेखि नै उठ्दै आएको हो । तर, सभासद् चयनमा आर्थिक लेनदेन नमिलेपछि यतिबेला दुई सभासद् एकले अर्कालाई फसाउन लागेको घटना छताछुल्ल भएको छ ।
प्रसंग हो, समानुपातिकतर्फ दुई वटा सभासद् पाएको तत्कालीन दलित जनजाति पार्टीका अध्यक्ष एवं हाल बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवान र सभासद् यशोदा कुमारी लामाको । सभासद् लामाले आर्थिक लेनदेनको विषयमा आफ्नो भतिजा कृष्णबहादुर तामाङलाई लगाएर पासवानविरुद्ध अपहरणको मुद्दा हाल्न लगाएकी हुन् । सभासद् लामाकै इशारामा भतिजा कृष्णबहादुरले पासवानविरुद्ध मुद्दा हाले पनि अपहरणको कुनै प्रमाण नभेटिएको हनुमानढोका प्रहरीले बताएको छ ।
स्रोतका अनुसार, पासवानले तीन करोड रुपैंया पाउने सहमति पछि यशोदालाई सभासद् बनाएका थिए । सहमति अनुसार, तीन करोडमध्ये ५० लाख रुपैंया पाएपछि गत मंसिरमै पासवानले यशोदालाई सभासद् सिफारिस चयन गरे । तर, त्यसपछि यशोदाले पासवानलाई पैसा बुझाउन आनाकानी गरिन् । पासवानले सम्झौता अनुसारको रकम दिन दबाब दिएपछि यशोदाले पार्टी नै फुटाइन् ।
यता, पासवानले भने मंसिरदेखि चैत्रसम्मको यशोदाको नाममा आउने सभासद् तलब भत्ता आफ्नो खातामा हालेपछि यशोदाले सभामुख सामु निवेदन दिएकी थिइन् । जसका कारण वैशाखबाट उनले तलब भत्ता पाउन थालिन् ।
तर, त्यतिमै विवाद नसकीपछि उनीहरुबीच एकले अर्कालाई फसाउने खेल सुरु भयो । यशोदाले आफ्ना भतिजोमार्फत पासवानलाई प्रहरीमा उजुरी दिइन् । उजुरीमा विश्वेन्द्र पासवानसँगै जीमी लामा र सकुन शेरचनलाई पनि पोलिएको छ । यो झगडा मिलाउन प्रहरी पनि आजित भएको छ ।
यता, विश्वेन्द्र भने आफूमाथि अन्याय भएको भन्दै गृहमन्त्री वामदेव गौतमसम्म पुगेका छन् । तर, गृहमन्त्रीले समेत यसको विषयमा वास्ता नगरेको स्रोतले बतायो ।
















प्रतिक्रिया